काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। सन्दीपका कानुन व्यवसायीका तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले थाहा खबरलाई जानकारी दिए।
लामिछानेविरुद्धको मुद्दा आज न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको थियो। न्यायाधीश पाण्डेयको इजलासमा तीन मुद्दा मात्र परेकामा सन्दीपको मुद्दा पहिलो नम्बरमा थियो। अदालतका सूचना अधिकारी दाहालका अनुसार अर्को पेशी पुस ८ गतेलाई तोकिएको छ।
यो मुद्दामा अहिलेसम्म ३२ पटक पेशी तोकिएको छ भने स्थगित मात्रै आठपटक भएको छ। अदालतले गत कात्तिक २३ गते सुनुवाइ गर्दै सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुनव्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो। अदालतको आदेशबमोजिम दुवै पक्षका कानुनव्यवसायीले हिजो लिखित रूपमा बहस नोट बुझाएका थिए।











