काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो। उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए।
‘कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्नेछ,’ उनले भने।
केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए। उनले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गरे।
शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ। केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४.५ रेक्टर, १२ः२९ बजे ४.२ रेक्टर, १२ः३५ बजे ४.३ रेक्टर र शनिबार दिउँसो ३ः४० बजे ४.२ रेक्टरस्केलको पराकम्प गएको छ ।











