चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४० वर्षपछि आफ्नै घरमा फर्किएको बताएका छन् । सरस्वती युवा क्लबले आयोजना गरेको बृहत इन्द्रेणी सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ४० वर्षको विभिन्न घटनाक्रमपछि स्थानीयका काखमा फर्किएको बताए ।
‘म ४० वर्षपछि तपाईहरुकै काखमा फर्किएको छु । मेरो एउटा सानो घर बनेको छ । बा वितेपछि बाको नाममा भएको केहि जग्गा मैले प्राप्त गरेँ । त्यहाँ एउटा सानो घर बनाएको छु र आजै त्यो घरभित्र छिरेँ । अब तपाईहरुको सुख, दुःखमा साथ दिने प्रतिबद्धता दिन चाहन्छु’, उनले भने ।
त्यस्तै सरस्वती युवा क्लबको भवन निर्माणका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । ‘अहिले म प्रधानमन्त्री छैन, तर प्रधानमन्त्री भन्दा धेरै कम पनि छैन । मेयर रेनु दाहालले १० लाख बोलेको हुनाले मैले २० त बोल्नै प¥यो । २० लाख उपलब्ध गराउने म विश्वास दिलाउन चाहन्छु’, उनले भने ।
चितवनमा नारायणीमा ठूला पुल र तटबन्ध लगायतका करोडौँका योजना आइरहेको बताउँदै उनले अब अर्बाैँका योजनाहरु आउन् र विकासले गति लिउन् भन्ने चाहेको बताए ।
फोटो : क. प्रचण्ड











