काठमाडौं । त्रिकोणात्मक टी–२० शृङ्खलामा हङकङले यूएईलाई ६९ रनले हराएको छ । तर रन रेटका आधारमा हङकङलाई उछिन्दै यूएईले नेपालसँग फाइनल खेल पक्का गरेको छ ।
बुधबार मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको हङकङले मार्टिन कोट्जीको ८६ रनको मद्दतमा निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।
हङकङले पहिलो विकेट छिट्टै गुमाएको थियो । ओपनर निजाकत खान मात्र ९ रनमा आउट भए, जतिबेला टिमको स्कोर ३३ थियो । तर कोट्जीले दोस्रो विकेटका लागि अंशुमान रथसँग १०६ रनको महत्वपूर्ण साझेदारी गरे । अंशुमान व्यक्तिगत ४१ रनमा आउट भए ।
त्यसपछि पनि कोट्जीले बाबर हायातसँग ४१ रनको अर्को महत्वपूर्ण साझेददारी गरे । अन्तिम १० बल खेल्न बाँकी छँदा कोट्जी ८६ रनमा आउट भए । ५५ बलको सामना गरेका उनले १० चौका र ४ छक्का हानेका थिए ।
रन रेटका आधारमा यूएई फाइनलमा पुगेको छ । अब समूह चरणको चार वटै खेल जितेर फाइनलमा पुगेको नेपालसँग पर्सि खेल्नेछ ।











