काठमाडौँ । नेपाल प्रहरीले आफ्नो ६८ औँ दिवस मनाइरहेको छ । अपराध नियन्त्रण, शान्ति सुरक्षा र नागरिकमा अमन चयन कायम राख्ने मुख्य अभिभारा बोकेको नेपाल प्रहरीले बर्सेनि ‘कर्मकाण्डी’ रुपमा प्रहरी दिवस मनाउँदै आएको छ ।
विसं २०१२ मा वैधानिक स्वरुप पाएको प्रहरी संगठनले आजसम्म आइपुग्दा विभिन्न आरोह/अवरोह झेल्नुपरेको इतिहास छ । स्थापनाकालदेखि हालसम्म यो संगठनले २८ वटा नेतृत्व पाएको देखिन्छ । पछिल्लो नेतृत्व बसन्त बहादुर कुँवरले गरिरहेका छन् तर, नेतृत्व चयन एकाधबाहेक कहिल्यै विवादरहित हुन सकेन ।
राजनीतिले प्रहरीलाई जहिल्यै आफ्नो स्वार्थसिद्धको नजरले हेर्ने र प्रहरीले पनि आफ्नो स्वार्थपूर्तिका लागि राजनीतिक फेरो समात्ने प्रवृत्ति अहिले पनि चलिरहेको छ । जसका कारण विधिसम्मत कानुनको पालना गर्ने र गराउने प्रहरी कर्मचारीहरु पाखा लागिरहेका छन् ।
‘चेन अफ कमाण्ड’ मा चल्ने फौजी संगठनभित्र देखिने गरी राजनीतिक विजारोपण २०४३ बाट सुरु भयो, जतिबेला रत्न शमशेर राणा सिनियर हुँदाहुँदै हेम बहादुर सिंहलाई प्रहरी महानिरीक्षक बनाइएको थियो ।
पञ्चायतकालमा दरबारले चाहेका व्यक्तिमात्रै प्रहरी नेतृत्वमा पुग्थे । पछि दरबारले रत्न शमशेरलाई पनि प्रहरी महानिरीक्षक बनाएको थियो ।
२०४६ मा प्रजातन्त्र पुनर्स्थापना भयो । संवैधानिक राजतन्त्रात्मक बहुदलीय व्यवस्था आएपछि पनि प्रहरीलाई राजनीतिक नेतृत्वले आफू अनुकल अस्त्रको रुपमा प्रयोग गर्न छाडेन । अझ गणतन्त्र आएपछि त राजनीतिक दलले प्रहरीलाई उपयोगको रणनीति नै लिए भन्दा हुन्छ । राताेपाटीबाट











