चितवन । टेन स्टार फुड्स प्रोडक्ट प्रालिका सञ्चालक चन्द्रबहादुर रोकाले चाउमिन तथा सस उत्पादनका लागि सबै मापदण्ड पुरा गरेको बताएका छन् । ‘फ्रेस चाउमिन’ ब्राण्डको चाउमिन उत्पादन गर्दै आएको टेन स्टारले सबै मापदण्ड पुरा गरेर खाद्य अनुज्ञापत्र लिएको उनले बताए ।
‘हाम्रो चाउमिन बनाउँदा हातको प्रयोग नै हुँदैन । चाउमिन बनाउने देखि प्याकिङ गर्ने सबै काम मेशिनबाटै हुन्छ’, उनी भन्छन्, ‘हामीले मैदा मुस्न फिल्टर गरेको पानी प्रयोग गर्छाैँ । हामीसँग पानी फिल्टर गर्ने प्लाण्ट नै छ ।’ खाद्य वस्तु गुणस्तर र उपभोक्तामैत्री मूल्य हुनुपर्छ भन्नेमा आफुहरु सचेत रहेको उनले बताए ।
टेन स्टारमा उनीसहित ३४ जनाको लगानी छ । छुट्टाछुट्टै रुपमा चाउमिन उत्पादन गर्दै आएका उद्योगीहरु मिलेर २०७३ सालमा रुपन्देहीमा टेन स्टार स्थापना गरेका हुन् । वर्षमा एक पटक चाउमिनको गुणस्तर परीक्षण गर्ने गरिएको उनी बताउँछन् ।
टेन स्टारको चाउमिन फ्रिज बाहिर राख्दा उत्पादन भएको मितिले चार दिनसम्म र फ्रिजमा राख्दा १० दिनभित्र खान सकिने उनले बताए । ‘हाम्रो उद्योगमा अटोमेशन प्लाण्ट रहेको र हातको प्रयोग नहुने भएकाले अरु चाउमिन भन्दा एक/दुई दिन बढि समयसम्म पनि खान सकिन्छ’, उनले भने ।










