चितवन । सिमानाकाबाट आउने दुग्धजन्य पदार्थलाई नियन्त्रण गर्न किसानहरुले माग गरेका छन् । किसानहरुले भरतपुरमा पत्रकार सम्मेलन गरी स्वदेशी दुधले बजार नपाएको समयमा भारतबाट आउने दुध पूर्ण रुपमा रोक्न माग गरेका हुन् ।
दुग्ध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले राज्यले यस विषयमा चासो नदिए किसान पलायन हुने अवस्था आउने बताए । ‘किसानले उत्पादन गरेको दुग्ध पदार्थले बजार पाएका छैनन्, । बेलामै राज्यले यस विषयमा ध्यान दिन आग्रह गर्दछु,’ उनले भने ‘यदि राज्यले यस विषयमा ध्यान नदिए किसान पनि आन्दोलनमा उत्रिन्छौँ ।’
उनले दुग्ध पदार्थमा देखिएको समस्यालाई न्यूनिकरण गर्न सहयोग नगरे डाक्टर, शिक्षकले जस्तै सडकमा उत्रिने चेतावनी समेत दिए । पछिल्लो समय दुग्ध उत्पादक संस्थाले किसानलाई बेलैमा रकम भुक्तानी नगर्दा र दुग्धजन्य पदार्थ विक्री नहुँदा दुध उत्पादक किसान मर्कामा परेको उनले बताए ।
साथै उनले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै कोक, फेन्टा डिउको सट्टा दुध, दहिको प्रयोग गर्न अनुरोध गरेका छन् । चितवनमा १ सय १५ वटा दुग्ध उत्पादक सहकारी संस्था रहेका छन् । संघका सचिव कल्याण अधिकारीले जिल्लामा किसानलाई विभिन्न दुग्ध उत्पादक संस्थाले समयमा रकम भुक्तानी नगर्दा समस्या सिर्जना भएको गुनासो गरेका छन् । उनले किसानलाई समयमा भुक्तानी गर्न विभिन्न उत्पादक संस्थालाई आग्रह गरेका छन् ।
जिल्लामा दैनिक साढे तीन लाख लिटर दुध उत्पादन हुन्छ । जसमा एक लाख ३५ हजार लिटर बाहिरी जिल्लामा खपत हुन्छ भने अरु जिल्लामा नै खपत हुन्छ ।










