रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रन वे का लागि छुट्याइएको पौने ५ विघा जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । भूमाफियाको गिरोहले मालपोत कार्यालयका कर्मचारीको सेटिङमा विमानस्थलको जग्गा व्यक्तिको नाउँ गरिएको भन्दै स्थानीयले जिल्ला प्रशासन तथा मालपोत कार्यालयमा धर्ना दिएका छन् ।
फिल्डबुकमा कसैको पनि नाम उल्लेख नभएको विमानस्थलको रनवे परेको ४ बिगा १७ कठ्ठा ६ धुर जग्गा मालपोत कार्यालयका प्रमुख कुमार आचार्य र नायब सुब्बा अजित साहनीले २०८० वैशाख ८ गते पर्वतराज कान्त मिश्राको नाममा दर्ता गराएको प्रमाण भेटिएको छ । मालपोत कार्यालयबाट पर्वतराज कान्त मिश्राले जग्गाको मुआब्जा पाउन गौतमबुद्ध विमानस्थल सुदृढीकरण कार्य आयोजना कार्यान्वयन इकाईमा निवेदन दिएपछि उक्त घटना बाहिर आएको हो ।
स्थानीयले रुपन्देहीका मालपोत प्रमुख आचार्यसहितका कर्मचारीले भूमाफियासँग मिलेर यस्तो काम गरेको भन्दै तत्काल रोक्न माग गरेका छन् । रनवे क्षेत्र नै व्यक्तिको नाममा दर्ता गरिएको सूचना पाएपछि विमानस्थल आयोजनाले यसबारे अध्ययन थालेको छ ।
प्राप्त कागजातअनुसार २०२१ सालमा भूमिसुधार ऐन लागू भएपछि तत्कालीन समयमा ७ नम्बर फाँटवारीमा सुर्जा मिश्राइनले ३० बिगा १४ कठ्ठा १४ धुर जग्गाको फाँटवारी भरेको देखिन्छ । यही फाँटवारीको अन्तिम महलमा हदबन्दीभन्दा बढी जग्गा भए राख्ने वा छाड्ने भन्नेमा करिब ४ बिगा जग्गा कालीजी ९भगवान०लाई दान गरेको हुँदा छाड्ने उल्लेख छ ।











