चितवन । सिन्धुली र लमजुङमा बिहानै देखि भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार दुई जिल्लामा पछिल्लो २४ घन्टामा धेरै भारी वर्षा भएको हो।
सिन्धुलीको कुसुमटारस्थित मरिन खोलामा पछिल्लो २४ घन्टामा १६४ मिलिमिटर वर्षा भएको छ। त्यहाँ पछिल्लो १२ घन्टामै १३८.६ मिलिमिटर वर्षा भएको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।
लमजुङको खुदी बजारमा २४ घन्टामा १२९.६ मिलिमिटर वर्षा हुँदा १२ घन्टामै १२१.२ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भनिन्छ। त्यसभन्दा माथी २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटर भन्दा बढीलाई मापन भए त्यसलाई अति भारी वर्षा भनिन्छ।
आज दिउँसो सातवटै प्रदेशमा भारी देखि धेरै भारी वर्षाको सम्भावना छ।












