काठमाडौं । सुनको मूल्य लगातार चार दिनयता घटेको छ । गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ओरालो लागेको छ ।
साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा तीन सय, मंगलबार एक सय, बुधबार सात सय र बिहीबार तीन सय रुपैयाँले सुनको मूल्य घटेको हो ।
बिहीबार तीन सय रुपैयाँले घटेर छापावाल सुन तोला ९२ हजार ५०० र तेजाबी सुनको तोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढ्दै ११ सय ८० रुपैयाँ पुगेको छ । बुधबार चाँदीको भाउ तोलामा ११ सय ७५ रुपैयाँ थियो ।











