काठमाडौं । राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीले उत्पादन थालेपछि कूल गार्हस्थ उत्पादन (जीडीपी)मा जलविद्युत क्षेत्रको प्रभाव बढ्न थालेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीले व्यवसायिक उत्पादन थालेपछि गत वर्षदेखि नै जीडीपीमा जलविद्युतले प्रभावशाली योगदान बढ्न सुरु गरेको हो ।
राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार लगातार दोस्रो वर्षमा उद्योगतर्फ जलविद्युत क्षेत्रको सबैभन्दा उच्च वृद्धिदर भइरहेको छ । राष्ट्रिय गौरव आयोजनाहरुको सूचीमा समेटिएको माथिल्लो तामाकोशीले २०७८ असार २१ गतेदेखि उत्पादन सुरु गरेको थियो । यो आयोजनाबाट बिजुली उत्पादन सुरु भएपछि नेपालको वर्षायामको सम्पूर्ण माग धानेर भारततर्फ निर्यातसमेत गर्न पुग्ने बिजुली बनेको थियो ।
यससँगै, अन्य आयोजनाहरुबाट समेत उत्पादन सुरु भएपछि गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको कूल जडित क्षमता २ हजार मेगावाट आसपास पुगेको थियो । गत आर्थिक वर्ष नेपालको जीडीपीमा जलविद्युत क्षेत्रले प्रभावशाली योगदान गरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा जलविद्युत क्षेत्रको वृद्धिदर ५३.३५ प्रतिशत थियो ।
कार्यालयले सार्वजनिक गर्ने जीडीपीको तथ्याङ्कमा १८ वटा क्षेत्र छन् । त्यसमध्ये गत आर्थिक वर्ष जलविद्युत क्षेत्रको वृद्धिदर ५३ प्रतिशतभन्दा धेरै भएको थियो । यस्तै, चालू आर्थिक वर्षको अन्तिमसम्ममा नेपालको कूल जडित क्षमता ३ हजार मेगावाट आसपास पुग्ने नेपाल विद्युत् प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ बताउँछन् ।
माथिल्लो तामाकोशीले उत्पादन थालेसँगै अन्य आयोजनाहरुसमेत आइरहेका छन् । यससँगै, नेपालको बिजुुली उत्पादन क्षमतासमेत बढेको छ । यहीकारण, नेपाल कम्तिमा ७–८ महिना बिजुलीमा आत्मनिर्भर बन्न थालेको छ भने सोही समयमा भारततर्फ निर्यात समेत थालेको छ ।










