काठमाडौं । सरकारले अवैधानिक रूपबाट वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका नेपाली नागरिकलाई एकपटकका लागि वैधता दिने तयारी थालेको छ। मंगलवार काठमाडौंमा आयोजित एक कार्यशाला गोष्ठीमा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले यस्तो जानकारी दिएका हुन्।
उनले अवैधानिक बाटो हुँदै नेपाली नागरिक विभिन्न मुलुकमा पुगेको र एकपटकका लागि सरकारले वैधता दिने गरी आफ्ना काम कारबाही अघि बढाएको बताए। उनले वैदेशिक रोजगारीमा जाँदा पनि अवैधानिक बाटो हुँदै जाने श्रमिकहरू बढी शोषणमा परेको बताए। उनले अवैध रूपमा विदेश गएका नेपालीलाई एकपटकका लागि वैधता दिन सरकारले अभियानकै रूपमा काम थालेको बताए।
उनले भने, ‘महिलाहरूको गन्तव्य मुलुकको चोरी बन्द भएको छ तर महिलाहरू विभिन्न मुलुकमा पुगेका छन् अनि शोषण भएको छ। अनौपचारिक तवरबाट वैदेशिक रोजगारीमा गएपछि सबैभन्दा पहिलो असुरक्षा त्यहाँबाटै शुरु हुन्छ। नेपाल सरकारको प्रयास विभिन्न कूटनीतिक माध्यमबाट जुन मुलुकमा श्रम स्वीकृति छ, त्यहाँका निकायसँग कुरा गरेर अवैधानिक रूपमा गएकाहरूका लागि एकपटकका लागि वैध गर्ने बाटोमा हामी लागेका छौँ। त्यो अभियानकै रूपमा लग्छौँ। अहिले श्रम स्वीकृति नभएर कति विद्यार्थी, पर्यटक भिसामा छिर्ने र काम गर्ने गरिरहेका छन्। त्यसका लागि केही कानुनी कुरा छन्, कुनै पनि भिसामा गएका नेपालीले काम गरिरहेका छन् भने तिनलाई पनि श्रम स्वीकृति दिने तयारीमा हामी छौँ।’










