जुम्ला। यार्सा टिप्न पाटन जाँदा हिमपहिरोमा पुरिएर बेपत्ता भएका जुम्लाका ३ जनाको ५ दिनसम्म पनि उद्धार भएको छैन। उनीहरु यही वैशाख २२ गते हिमपहिरोमा बेपत्ता भएका हुन्। उनीहरु बेपत्ता भएको ३ दिनपछि खोजी गर्न २५ गते पठाइएको हेलिकोप्टर सिरानचौरसम्म पुगेको थियो।
मुगु र डोल्पाको सीमामा रहेको पाटन च्यार्खु लेखमा पातारासी(२ तल्फि गाउँका ४२ वर्षीय तारासिंह सार्की, ३८ वर्षीय पूर्णसिंह सार्की र ३६ वर्षका वीर बोहरा हिमपहिरोमा बेपत्ता भएका छन्।
बेपत्ताको खोजी तथा उद्धारमा प्रशासन संवेदनशील नभएको भन्दै जुम्लाका स्थानीयले दुखेसो गरेका छन्।
मुगुका प्रमुख जिल्ला अधिकारी मोहोनबहादुर थापाका अनुसार घटनास्थलमा २१ जनाको टोली त्यहाँ पुगेको छ। प्रजिअ थापाका अनुसार मंगलबार त्यहाँ टोली पुगे पनि अत्यधिक हिउँ जमेकाले पुरिएका मानिसहरु भेटिएका छैनन्।
सोमबार बिहान हेलिकोप्टरबाट गएको खोजी टोली सिरानचौरमा उत्रिएको थियो। एक दिन हिँडेर खोजी टोली छापाखोला पुगेको थियो। छापाखोलाबाट आज बिहान ६ बजे घटनास्थल च्यार्खु लेकमा पुगेर खोजी गरे पनि हिउँ धेरै भएकाले खोज्न नसकी फिर्ता भएको छ।
हिमपहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी कार्यालयको सम्पर्क आएकामध्ये कर्ण सार्कीसहितलाई लिएर उद्धार तथा खोजी टोली घटनास्थल गएको थियो। अन्य ९ जना घर फर्किएका छन्।
आन्तरिक मामिला मन्त्रालयको विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार उद्धार टोलीले खोजी गरे पनि हिमपहिरोमा पुरिएका व्यक्ति पत्ता नलाग्दा सकस भएको छ।
घटनास्थलमा अझै हिमपात भइरहेकाले त्यहाँ बास बस्न नसकेर खोजी टोली छापाखोला नै फर्किएको र बुधबार फेरि घटनास्थल जाने भएको छ।
यति लामो समय बेपत्ता भएका व्यक्ति पत्ता नलाग्दा आफन्तलाई निराशा बढ्दै आएको छ। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले अहिलेसम्म बेपत्ताहरुको पत्ता नलागेकाले आफन्तहरुमा निराशा छाएको बताए।
गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले दुखद घटना भएकाले खोजीमा लाग्न सबैलाई अनुरोध गरेको बताइन्। उनले भनिन्, ‘सरकारले थप टोली पठाएर भए पनि हिमपहिरोमा परेका ३ जनाको तत्काल खोजी तथा उद्धार गर्नुपर्यो।’











