काठमाडौं। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार हिमाल आरोहण अनुमतिबाट हालसम्म ७४ करोड ६ लाख रूपैयाँ राजस्व सङ्कलन भएको छ।
सगरमाथाबाट मात्रै ६५ करोड ५ लाख राजस्व जम्मा भएको छ। सगरमाथापछि सबैभन्दा धेरै ल्होत्से हिमालबाट २ करोड ८३ लाख र मकालु हिमालबाट १ करोड ३६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ।
पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले यस याममा सगरमाथा आरोहण इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएको र आरोहीको सङ्ख्या बढेसँगै राजस्व सङ्कलन पनि बढेको बताए।
वसन्त यामको सगरमाथालगायत हिमाल आरोहणका लागि नेपालसहित ८० देशका आरोहीले विभागबाट अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि मात्रै नेपालसहित ६५ देशका आरोहीले अनुमति पाएका छन्।
नेपालमा ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल छन्।
सगरमाथा आरोहण गर्ने ४६७ जना
पर्यटन विभागको विवरणमा यही वैशाख २५ सम्म वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ४६७ आरोहीले अनुमति लिएका छन्।
यस याममा सगरमाथा आरोहण अनुमति लिने आरोही लगभग सबै आइसकेका र बुधबारसम्म केही अनुमति लिने प्रक्रियामा रहेका शाखा अधिकृत कोइरालाले जानकारी दिए। अनुमति लिएका आरोही अहिले सगरमाथाको आधारशिविर र दोस्रो शिविरमा आरोहणको प्रतीक्षामा छन्।
सगरमाथाको साउथ कोल ९चौथो शिविर०सम्म सगरमाथा आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले बाटो बनाइसकेका छन्। सगरमाथाको चुचुरोमा डोरी टाँगेपछि आरोहण सुरु हुन्छ।
यही वैशाख १० गते नै सगरमाथाको चौथो शिविरसम्म बाटो खुलाइए पनि प्रतिकूल मौसमका कारण आइसफल डाक्टरले चुचुरोसम्म बाटो पुर्याउन कठिन भइरहेको छ। उनीहरु एक साताभन्दा बढीसमयदेखि आधारशिविरमा छन्।
सगरमाथाको ७ हजार ५ सय मिटरमाथिको क्षेत्रमा तीव्र वेगमा हावा चलिरहेकाले आरोहणलाई निरन्तरता दिन नसकिएको सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको ‘इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनी’ले जनाएको छ।
सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी०ले बाटो बनाएको थियो। सगरमाथाको साउथ कोलसम्म यही वैशाख १० गते नै बाटो खुलिसकेको थियो।
वसन्त ऋतुको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमालचुली आरोहणका १२६ आरोही समूहका २५४ महिला र ८६९ पुरुष गरी कूल १ हजार १२३ आरोहीले अनुमति लिएको विभागले जनाएको छ।











