काठमाडौं, वैशाख २६–
एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझी पाँच दिनसम्म पनि सम्पर्कमा नआएपछि प्रहरीले उनलाई पक्राउ गर्न देशभर सुर्कुलर गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । रायमाझीलाई पक्रन केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतका निकायबाट पनि प्रहरी परिचालन गरिएको छ ।
बम
पक्राउ पुर्जी जारी भएको समाचार सार्वजनिक हुँदा गत बुधबार रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सभामुख देवराज घिमिरेसँगै थिए । त्यही दिन उनी ‘काठमाडौं गएर प्रहरीलाई सघाउने’ भन्दै काठमाडौंका लागि हिँडेका थिए । तर, त्यही साँझ छोरा सन्दीप पक्राउ परेपछि उनी बिहीबार बिहानदेखि फरार भएका थिए ।
उता, सोही मुद्दाका कारण नेपाल प्रहरीका आइजिपी वसन्तबहादुर कुँवरले अमेरिका भ्रमण रद्द गरेका छन् । अमेरिकी सरकारले गर्ने ‘लिडरसिप एक्सचेन्ज’सम्बन्धी कार्यक्रमको निमन्त्रणमा उनी सोमबार त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।
भुटानी शरणार्थीसम्बन्धी ठगी मुद्दामा उच्चपदस्थमाथि अनुसन्धान अघि बढेपछि आइजिपी कुँवरले भ्रमण रद्द गरेको स्रोत बताउँछ । प्रहरी सहप्रवक्ता एसएसपी दीपेन्द्र जिसीले आइजिपी कुँवरको भ्रमण रद्द भएको पुष्टि गरे, तर कारणबारे जानकारी नभएको बताए ।











