काठमाडौं। संवैधानिक परिषदको बैठकपछि सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छुट्टै भेटवार्ता भएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण पेचिलो बन्दै गएको परिप्रेक्ष्यमा प्रचण्ड र ओलीले बैठक सकिएलगत्तै भेटवार्ता गरेको अनुमान गरिएको छ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएदेखि फरार रहेका छन्। एमालेकै उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर बादलको समेत शरणार्थी प्रकरणमा संलग्नताको आशंका भइरहँदा प्रधानमन्त्री प्रचण्ड र ओलीले यसअघि पनि दुई पटक भेटवार्ता गरेका थिए।
प्रचण्डले उक्त प्रकरणका दोषीलाई कारबाही गर्न आफू कसैको दबाबमा नझुक्ने बताएपछि ओलीले प्रधानमन्त्री प्रचण्ड भ्रष्टलाई जोगाउने र प्रतिपक्षीलाई फसाउने खेल खेल्न लागेको आरोपसमेत लगाएका थिए। उनले एमालेविरुद्ध षडयन्त्र गरे नसहने चेतावनीसमेत दिएका थिए।
प्रधानमन्त्री प्रचण्डले भने नक्कली शरणार्थी प्रकरणको अहिले ट्रेलरमात्रै आएको तर पूरा फिल्म भने आउन अझै बाँकी रहेको बताएका थिए।











