काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुरानै बोतलमा नयाँ रक्सी भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा उनले रास्वपाको नाम नलिई ४–६ महिनाअघि खुलेको भए पनि उक्त पार्टी बुढो भएको बताएका हुन् । ‘नेपालमा सबैभन्दा नयाँ भने पनि, सबैभन्दा पुरानो पार्टी भने पनि नेकपा एमाले नै हो’ ओलीले भने, ‘अहिले ४ महिना ६ महिना, १० महिनाअघि खोलेको भए पनि बुढो विचार बोलेको पार्टी नयाँ कसरी हुन्छ ? उसैको नयाँ संस्करण हो । यो एउटा एनेक्स (अनुसूची) हो ।’
पुरानो विचार बोक्ने पार्टी नयाँ खुल्नुको अर्थ नहुने भन्दै उनले भने, ‘यी बोतल जुनसुकै कलरका, जेसुकै होउन् बोतल नयाँ होला रक्सी उस्तै हो । उही रक्सी बोकेर हिँडेको छ । जे सुकै चिह्न बोकुन्, अब देश बनाउने भिजनबिना, कहाँ पुग्ने भिजन गन्तव्यबिना, समृद्ध नेपाल सुखी नेपालीजस्तो क्लियर विभजनबिना, समृद्ध नेपाल सुखी नेपाली कसरी प्राप्त गर्ने भन्ने भिजन बिना हामी अगाडि बढ्न सक्दैनौं ।’











