काठमाडौं। प्रतिनिधिसभाको वर्षे अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ठूल्ठूला भ्रष्टाचार काण्डबारे छानबिन गर्न जोडदार माग गरेको छ। एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारका सबै काण्डहरू बारे छलफल गर्न माग गरेका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूहरू टिकट काटेर फिलिम हेर्न तयार रहेको समेत बताए।
‘प्रधानमन्त्रीज्यू तपाईंले फिलिम देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौं। फिलिम देखाउनूस्। हामीलाई विश्वास छ– वाइडबडी घोटाला , बाँसबारी जग्गा घोटला, बालमन्दिर घोटाला काण्ड, मातातिर्थ जग्गा घोटला काण्ड, यति, ओम्नि काण्ड, लडाकू शिविरका घोटला काण्ड, बजेटमा विचौलिया र सिसिटिभी फुटेज लगायत तमाम काण्डहरू यो अधिवेशनमा गम्भीरताका साथ उठाऔं,’ उनले भने।
शनिबार प्रधानमन्त्री प्रचण्डले भनेका थिए– अब भ्रष्टाचारीहरूको फाइल खोलिन्छ। कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिँदैन। अहिले त्यो प्रक्रिया सुरू भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ।











