काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्दै आइतवार प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको स्पष्ट पारे। उनले सबै प्रकाकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको जानकारी दिए।
प्रधानमन्त्री दाहालले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाउन लागेको बताए। उनले ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको बताए। उनले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइएको पनि बताए।
उनले भने, ‘वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि प्रतिबद्ध छ। सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको छ। पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको छ। सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाइँदै छ। यो प्रक्रिया अघि बढिसकेको छ। ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइँदै छ। सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइँदै छ।’
प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको बताए।










