चितवन । नेपालका छ वटा महानगरपालिकामध्ये भरतपुर महानगरपालिकाको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/७९ को वार्षिक लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्दै छ महानगरमध्ये भरतपुरको सबैभन्दा कम बेरुजु देखाएको हो ।
प्रतिवेदनअनुसार भरतपुर महानगरको ६ अर्ब ९६ करोड २६ लाख रुपैयाँको लेखापरीक्षण गर्दा बेरुजु ६६ लाख रुपैयाँ अर्थात् ०.०९ प्रतिशत रहेको छ । सबैभन्दा धेरै बेरुजु वीरगञ्ज महानगरको देखिएको छ । वीरगञ्जको ७ अर्ब ४३ करोड ४९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ६७ करोड ७८ लाख रुपैयाँ बेरुजु रहेको महालेखाले औँल्याएको छ ।
भरतपुरपछि कम बेरुजु हुनेमा काठमाडौँ महानगर रहेको छ, जसको बेरुजु २.६० प्रतिशत छ । त्यस्तै, विराटनगरले ३.९२ प्रतिशत, पोखराको ५.५४ प्रतिशत र ललितपुरको ७.०४ प्रतिशत बेरुजु देखिएको छ । ६ वटा महानगरको कुल बेरुजु दुई अर्ब ९० करोड १३ लाख रुपैयाँ रहेको छ ।











