चितवन । चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले घण्टीलाई नमस्कार गर्दै सूर्यमा भोट हाल्न आग्रह गरेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १ मा आज भएको घरदैलोका क्रममा उम्मेदवार न्यौपानेले आफूले सबैको सम्मान गर्ने भन्दै घण्टीलाई नमस्कार गरेर सूर्यमा भोट हाल्न आग्रह गरेका हुन् ।
“हामी उम्मेदवार हो, सबैको सम्मान गर्नुपर्छ” न्यौपानेले भने, “सबैले घरमा घण्टी बजाउनुस् र नमस्कार गर्नुस् तर, वैशाख १० मा सूर्यमा मतदान गर्नुस् ।” रामनगरमा आयोजित घरदैलोपछि सम्बोधन गर्दै न्यौपानेले यसअघि निर्वाचिन सांसदले रामनगरमा एक महिनाभित्रै खानेपानी ल्याउने भनेर बाचा गरेको भए पनि रामनगरका जनता खानेपानीको समस्याबाट पीडित रहेको बताए । न्यौपानेले कृष्णभक्त पोखरेलको पालामा खानेपानी योजनाका लागि बजेट परेको भन्दै आफू निर्वाचित भएर गएपछि चाँडो खानेपानी समस्या समाधान गर्नेगरी काम गर्ने बताए ।
आमा बुवालाई पाल्ने पार्टी एमाले भएको भन्दै न्यौपानेले एमालेले गर्ने कामको दूरगामी प्रभाव पर्ने बताए । “हामीले जे गर्छौँ यो समाजलाई राम्रो हुने काममात्रै गर्छौँ, हामीले नराम्रो कहिल्यै पनि गर्दैनौँ” न्यौपानेले भने, “म तपाईँहरुबीच प्रतिबद्धता व्यक्त गर्न चाहान्छु, म करम्पसनमा कहिल्यै फस्दिनँ, म कुनै लेनदेनमा फस्दिनँ, म कुनै विवादमा फस्दिनँ र जनताको असल प्रतिनिधि बनेर तपाईँहरुको सेवा गर्न चाहान्छु ।” न्यौपोनले जनप्रतिनिधिहरु भनेको सधैँ असल र नैतिकवान हुनुपर्ने भन्दै असल छु कि छैन भनेर आफ्नो आत्मालाई साक्षी राखेर भन्नुपर्ने बताए ।
“म जनताको बीचबाट कसम खाएर भन्छु, हरेक परीक्षा दिन तयार छु, म हरेक सन्दर्भ र सवालमा असल छु” उनले भने, “म अगतिलो कहिल्यै हुनेछैन, म गतिलो मान्छे बनेर राम्रो मान्छे बनेर असल मान्छे भनेर सदैव न्यायको पक्षमा लड्नेछु ।” न्यौपानेले वडा नम्बर १ मा खानेपानीसहित बाटोघाटोको समस्या रहेको भन्दै समाधानका लागि भूमिका खेल्ने बताए । समाजमा विकृति फैलाउने व्यक्तिहरुलाई सिध्याएर छोड्ने न्यौपानेको भनाइ छ ।
“समाजमा विकृति फैलाउने, अनैतिक काम गर्ने, भ्रष्टाचार गरेर समाजलाई सिध्याउने सबै रावणहरुलाई, राम हुँ सिध्याएरै छोड्छु” उनले भने, “मेरो नाम राम हो, राम त्यसै भएको होइन, म कर्मले राम बन्ने तपाईँहरुको बीचमा प्रतिज्ञा गर्छु ।” जनताको समस्याहरुमा एमाले निरन्तर लड्दै आइरहेको उनको भनाइ छ । पछिल्लो समय सरकारले वृद्धभत्ता कटौती गर्न खाजेको आफूले सुनेको भन्दै न्यौपानेले वृद्धहरुको सम्मानका लागि प्रदान गरिएको यो भत्ता कसैले काट्न खोजे ज्येष्ठ नागरिकको श्राप लाग्ने बताए ।











