काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा उक्त अडिओ सार्वजनिक हुनु पार्टीविरूद्धको षडयन्त्र भएको बताएका छन्।
बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन्।
‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’
उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने दाबी गरे। उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनको दाबी छ।











