काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन २ का उम्मेदवार रवि लामिछानेविरुद्ध कडा टिप्पणी गरेकी छन् । चितवनमा आयोजित एक चुनावसभामा बोल्दै सबै ठूला पार्टीहरूले आ–आफ्नो भोट बैंक सुरक्षित राखेर रविलाई हराउनुपर्नेमा जोड दिइन् ।
कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै रेनुले आफ्नो पार्टी माओवादीबाट श्रेष्ठमाथि कुनै धोका नहुने प्रत्याभूति दिइन् । रवि लामिछानेले एकपटक जनताको दिलदिमाग भड्काएर चुनाव जिते पनि अब त्यसो हुन दिनु नहुने उनको भनाई थियो ।
उनले रविमाथि व्यक्तिगत आक्षेपहरू पनि लगाइन् । रविले चार-चार वटा श्रीमती बिहे गरेको भन्दै दाहालले उनको पछि लाग्नेहरू देखेर अचम्ममा परेको बताइन् । रविलक्षित दाहालका अभिव्यक्तिहरू यस्ता थिए–
‘यसो हेर्छु, अचम्म लाग्छ‘ रवि लामिछानेको पछाडि मान्छेहरू यत्तिकै क्या‘ । त्यसमा पनि महिला दिदीबहिनीहरू छन् । चार(चारवटा श्रीमती बिहे गरेको छ । दुई(दुईवटा नागरिकता छन् । अहिले त दुई करोडका कुरा पनि आइसके । सबै चिजमा छलाङ छ । उल्टो मति उल्टो गति‘ यस्तो खालको अवस्था हुँदाहुँदा सबै मान्छे एकदमै भक्त भएर कुदिराख्नुभएको छ ।
‘सांसद भएको ६.८ महिनामा के.कस्ता काम गर्नुभयो? उहाँले एउटा जनप्रतिनिधिका हिसाबले काम गर्नुभएन । वन समितिमा गएर पत्रकारको शैलीमा सातो लिनुभयो । होटल व्यवसायीहरूको माझमा गएर उहाँहरूमाथि प्रहरी, प्रशासनले पनि नगरेको काम गर्नुभयो । केही कमीकमजोरी हुन सक्छन् । भुलवस हुने कमीकमजोरीलाई स्टन्टबाजी गरेर सातो लिने काम उहाँले गर्नुभयो ।
धर्मचोकमा गएर ४ वर्षअघि निर्माण कार्य अघि बढेको सडकलाई यति दिनभित्र गर्ने भनेर फर्मान र मिडियाबाजी गरेको भन्दै रवीलाई दाहालले आरोप लगाएकी छन् । जादूको छडी झैँ आदेशको भरमा, निर्देशको भरमा सम्पन्न भएको जसरी प्रचार गर्नुभयो । चितवनवासी जनसमुदायले उहाँको काम गर्ने तौरतरिका बुझ्न जरुरी छ । यसरी होहल्ला र मिडियावाजी गरेर जनताको अपेक्षा पूरा गर्न सकिँदैन । यो कुरामा सचेत हुन जरुरी छ ।
र एउटा पुरानो पार्टीका स्थापित नेता-कार्यकर्ता र संसदीय राजनीति जनअपेक्षा बुझेको नेतृत्व र व्यक्तित्वलाई यहाँका जनताले रोज्नुपर्छ । अहिले माहोल राम्रो बनेको छ । कांग्रेस, माओवादी र एमालेले आफ्नो मतलाई मात्रै जोगाउन सक्यौं भने रविको भोट कहाँबाट आउँछ र? माथि आकाशबाट बर्षिने त होइन होला ? यही धर्तिबाट यिनै पुराना पार्टीहरुकै भोट, सोझा जनताको दिलदिमागलाई भड्काएर आफ्नो पक्षमा पारिएका भोटहरू हुन्‘ अब त्यसो हुन नदिऊँ । विगतका कमी-कमजोरी करेक्सन गर्ने मौका आएको छ । यो मौकालाई खेर नफालौं ।’











