काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेका सांसद डा. ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट एक साताका लागि निलम्बन गरेको छ।
घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीले कारबाही गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। रास्वपाले उनलाई समानुपातिकतर्फबाट सांसद बनाएको थियो। पार्टीले श्रेष्ठलाई सांसद तथा पार्टीको पदमा रहेर कुनै पनि काम काज नगर्ने गरी कारबाही गरेको हो ।
पदाधिकारी बैठकले पार्टीको साधारण सदस्य समेत नरहने गरी श्रेष्ठलाई कारबाही गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । सांसद श्रेष्ठको विषयमा छानबिन गर्ने अधिकार अनुशासन समितिलाई पनि दिइएको उनले बताए ।
‘पार्टी पदाधिकारी बैठकले श्रेष्ठ सांसद पदमा रहने कि नरहने भन्ने विषयमा अध्ययन गरी सात दिनभित्र पार्टीलाई प्रतिवेदन बुझाउन समितिलाई भनेको छ । सो प्रतिवेदन आएपछि थप काराबाही अगाडि बढाउने छ’ ढकालले भने ।
श्रेष्ठले स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्न पार्टी सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्दै प्रसाईंसँग गरेको कुराकानीको अडियो सार्वजनिक भएको थियो। उनले उक्त रकम आफूले पाएर स्वास्थ्यमन्त्री भएपछि व्यवसायी प्रसाईंका पक्षमा काम गर्ने बताएका छन्।
‘आज मैले फिक्स्ड गर्नुपर्छ पैसा, उधारो हुन्न भन्छन् फेरि,’ उनले फोनमा भनेका छन्, ‘साढे दुई भनेका छन्, तर एक दियो भने पनि मान्छन् होला।’
आफूले दुई करोड रूपैयाँ दिने ग्यारेन्टी गर्दै प्रसाईंले भनेका छन्, ‘म दुई करोड दिन्छु, ग्यारेन्टी भयो। भोलि मेरो पनि काम गर्नुपर्छ तपाईंले।’










