भरतपुर । चितवनमा पहिलोपटक साहसिक खेल ‘नेपाल अटो जिमखाना प्रतियोगिता’ हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसियसन (नासा) नेपाल बागमती प्रदेश संघ र चितवन अटोमोबाइल्स डिलर्स एसोसियसनको संयुक्तमा आयोजनामा आगामी बैशाख ३० गते अटो जिमखाना प्रतियोगिता हुने भएको हो ।
नासा नेपाल बागमती प्रदेश संघका अध्यक्ष राजन पियाका अनुसार महालक्ष्मी ट्रायल सेन्टरको एक किलोमिटर ट्रयाकमा प्रतियोगिता सुरु हुनेछ । खेलको विजेतालाई २७ हजार, द्धितियलाई नौ हजार र तृतियलाई तीन हजार रुपैयाँ एवम् शिल्ड र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
‘मोटर रेसिङको सर्ट सर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरि कलात्मक हिसाबले तयार गरिन्छ,’ उनले भने, ‘जहाँ ड्राइभरहरुले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् ।’ प्रतियोगिताबारे आयोजकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
आयोजकका अनुसार उक्त खेल नेपाल र विश्वकै सन्दर्भमा अत्यन्तै शाहासिक र पृथक पहिचान बोकेको मोटर स्पोर्टस्को नयाँ विधामा पर्दछ । प्रतियोगितामा सहभागी हुन नेपालभरका इच्छुक ड्राइभरले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने पियाले बताए । सहभागीले दर्ता शुल्क वापत तीन हजार रुपैयाँ बुझाउनु पर्ने उनको भनाइ छ ।
‘खेलमा बढीमा २५ जना ड्राइभर सहभागी हुन पाउनेछन् । पाँच जनासम्म महिला सहभागी भएको अवस्थामा दुईवटा क्याटागोरी बनाइनेछ,’ उनले बताए । प्रतियोगिताको अघिल्लो दिन वैशाख २९ गते ड्राइभर, मार्शल र अन्य प्राविधिकको उपस्थितिमा सहभागीलाई प्रशिक्षण दिइने उनले जानकारी दिए ।
‘प्रतियोगितामा सहभागीको समूह विमा गरिन्छ । उनीहरुलाई रेसिङ्ग तथा रोड सेफ्टिको जानकारी पनि दिइनेछ,’ उनले भने, ‘चितवन बाहिरबाट आउने सहभागीलाई भने आवास र खानाको व्यवस्था गरिनेछ ।’ ड्राइभरको क्षमता परीक्षणपछि प्रतियोगितामा बढीमा २५ जनासम्मलाई सहभागी गराइने उनले बताए ।
‘नासाको लाइसेन्स प्राप्त ड्राइभरले मात्र प्रतियोगितामा सहभागी हुन पाउनेछन्,’ उनले भने । प्रतियोगितामा सहभागी ड्राइभरले १२ सयदेखि हजार सीसी सम्मका गाडी लिएर उपस्थित हुनु पर्नेछ ।
अनुमानित लागत १४ लाख ३० हजार रुपैयाँमा हुने प्रतियोगिताको लागि भरतपुर महानगरपालिका, बागमती खेलकुद विकास परिषद, उद्यमी व्यवस्थापन तथा दर्ता शुल्क मार्फत बजेट व्यवस्थापन गरिने नासाले जानकारी दिएको छ । प्रतियोगिताका कारण यहाँको पर्यटन प्रबद्र्धनलाई सहयोग पुग्ने विश्वास लिइएको छ ।











