काठमाडौं । नेपाली राहदानी दुरुपयोगको उजुरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णयको कारण खुलाउन सर्वोच्च अदालतले महान्यायाधिवक्ताको कार्यालयलाई आदेश दिएको छ।
लामिछानेविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई चुनौती दिँदै युवराज पौडेलले सर्वोच्च अदालतमा सोमवार रिट निवेदन दर्ता गराएका थिए।
मङ्गलवार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा उक्त मुद्दा परेको भए पनि सुनुवाइ भएन। सिन्हाले यसअघि संवैधानिक इजलासमा लामिछानेको नागरिकता मुद्दामा राय दिएका कारण यो मुद्दा आफूले हेर्न नमिल्ने बताएका थिए।
बुधवार उक्त रिट निवेदन न्यायाधीश हरि फुयालको इजलासमा पेस भएको थियो। ‘न्यायाधीश फुयालको इजलासले महान्यायाधिवक्ताको कार्यालयलाई कारण देखाऊ आदेश दिएको छ,’ सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए।











