चितवन । चितवन– २ को उपनिर्वाचनमा रवि लामिछाने विरूद्ध युवराज पौडेलले दिएको उजुरी नलाग्ने भएको ।
लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नबुझाइ पुन: नागरिकता प्राप्ति गरेको भन्दै पौडेलले उजुरी दिएका थिए। लामिछाने विरूद्ध पौडेलबाहेक चितवन– २ मै उम्मेदवारी दिएका अरू तीन जनाले पनि उजुरी दिएका छन्। स्वतन्त्र उम्मेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उम्मेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र स्वतन्त्र उम्मेदवार अम्बिका भट्टका प्रतिनिधि शिवबहादुर सुवेदीले कार्यालयमै पुगेर उजुरी दिएका थिए।
उनीहरूले लामिछानेले पुरानो मतदाता नामावलीको आधारमा उम्मेदवारी दर्ता गरेको र नागरिकता लिएको तीन महिना नपुग्दै उम्मेदवार बन्न नमिल्ने जिकिर उजुरीमा गरेका थिए। तीन उम्मेदवारको उजुरी लाग्ने भए पनि पौडेलले भने उजुरी दिनै नपाउने भएकाले नलाग्ने भएको हो।
मनोनयन दर्ता भएर अन्तिम नामावली निकाल्नुअघि उम्मेदवारले मात्र आफ्ना प्रतिस्पर्धीविरूद्ध उजुरी गर्न पाउने निर्वाचन आयोग ऐनको व्यवस्थाका कारण पौडेलको उजुरी नलाग्ने भएको हो।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन ऐन २०७४ मा उम्मेदवारीविरूद्ध उजुरी दिन पाइने २ वटा व्यवस्था देखिन्छन्। दफा १५ मा उम्मेदवारको लागि मनोनयन दर्ता भइसकेपछि निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा जोसुकैले उम्मेदवार अयोग्य रहेको वा हुँदैछ भन्ने कुराको प्रमाणसहित उजुरी गर्न सक्ने भनिएको छ। यस्तो उजुरी निर्वाचन अधिकृतमार्फत् निर्वाचन आयोगमा गर्नुपर्ने पनि उक्त दफामा उल्लेख छ।
दफा २१ मा मनोनयन पत्र दर्ता भएको कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबी विरोध गर्न चाहने उम्मेदवार वा उसको प्रतिनिधिले निर्वाचन कार्यक्रमको सूचनामा उल्लेखित मिति, समय र स्थानमा निर्वाचन अधिकृत समक्ष उजुरी दिन सक्ने भनिएको छ।
यी दुवै दफाका अनुसार उजुरी गर्न पाउने समय फरक रहेको सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बताए।
‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन ऐन अनुसार निर्वाचनमा भाग लिने उम्मेदवारविरूद्ध दुईपटक उजुरी गर्न पाइन्छ। एउटा उम्मेदवारले मनोनयनपत्र दर्ता गरेपछि अन्तिम नामावली प्रकाशित नहुन्जेल। यो समयमा प्रतिस्पर्धी उम्मेदवारले मात्र उजुरी गर्न पाइन्छ,’ उनले भने, ‘अर्को मनोनयन दर्ता भइसकेपछि अर्थात् अन्तिम नामावली समेत प्रकाशित भएपछि निर्वाचनको परिणाम घोषणा नहुँदैको अवस्थामा। यो समयमा भने जो सुकैले उजुरी दिन पाउँछ।’
२१ अनुसारको उजुरी मनोनयनपत्र दर्ता भएपछि अन्तिम नामावली प्रकाशित हुनुपूर्वको अवस्थामा गर्न पाइने उजुरी भएको उनले बताए।
‘दफा २१ मा मनोनयन पत्र रित पूर्वक छ वा छैन भनेर जाँच गरिन्छ। त्यसरी जाँचेर मनोनयनपत्र दर्ता भइसकेपछि अन्तिम नामावली प्रकाशन हुनुपूर्व प्रतिस्पर्धी उम्मेदवारले मात्र उजुरी दिन पाउँछ,’ उनले भने।
यसरी आएको उजुरीमा निर्वाचन अधिकृतले नै जाँच गरी योग्यता अयोग्यता छुट्याउने अधिकार राख्छ।
दफा १५ अनुसार मनोनयन दर्ता भइसकेर अन्तिम नामावली समेत प्रकाशन भएपछि उजुरी गर्न सक्ने र जो सुकैले उजुरी गर्न सक्ने उनले बताए।
‘यो उजुरी भने निर्वाचन आयोगले हेर्ने हो,’उनले भने।
यसअघिको चुनावमा मनोनयन दर्ता भइसकेपछि युवराज सफलले नै रविविरूद्ध आयोगमा उजुरी गरेका थिए।











