चितवन । विभिन्न सामाजिक कार्यगरी चितवनमा पनि अन्तर्राष्ट्रिय राउण्ड टेबल दिवस मनाईएको छ । सामाजिक संस्था नारायणगढ राउण्ड टेबल–१४ र चितवन राउण्ड टेबल–३१ को संयुक्त प्रयासमा अन्तर्राष्ट्रिय राउण्ड टेबल दिवस मनाईएको हो ।
हरेक वष मार्च १४ मा मनाईदै आएको उक्त दिवसको पहिलो दिन रक्तदानको आयोजना गरिएको थियो । ओम अस्पताल भरतपुर र प्रेसिडेन्सी कलेजमा रक्तदानको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा १२५ जनाले रक्तदान गरेको नारायणगढ राउण्ड टेबलका अध्यक्ष विवेक चाचनले जानकारी दिए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनका अस्पतालमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम गरिएको उनले बताए । यसैगरी सोमबार राउण्ड टेबलले देवघाटको श्री रामजानकी गार्गी कन्या गुरुकुलम स्कुललाई दुई वटा कम्प्युटर हस्तान्तरण गरेको छ । संस्थाले सोहीदिन स्कुल परिषरमा २० वटा सुपारीको बृक्षारोपण गरेको थियो । साथै रोटरी करुणालय बृद्धाआश्रममा एक छाक खाना र फलफूल वितरण गरिएको अध्यक्ष चाचनले जानकारी दिए ।
अघिल्लो सातामात्रै संस्थाले उद्योग वाणिज्य संघ चितवनको सहकार्यमा संघको सभाहलमा चितवनका व्यवसायीहरुलाई प्रोस्टेट क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरेको थियो । आगामी दिनमा पनि संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिंँदै जाने चाचनको भनाई छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष, सदस्यहरु लगायतको टोली सक्रिय रहेको थियो ।
बिशेषगरी ‘फ्रिडम थ्रु एजुकेशन’को नारा लिएर अंग्रेजी वर्ष १९९९ देखि नेपालमा सेवा शुरु गरेकोे राउण्ड टेबलले नेपालमा मात्रै ६५ वटा सामुदायिक भवन निर्माण गरिसकेको छ । जहांँ ३६५ वटा कक्षा कोठा सञ्चालनमा छन् ।











