काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध राहदानी विवादमा मुद्दा नचल्ने भएको छ। महान्यायाधिवक्ता दिनमणि पोखरेलले सोमबार लामिछानेविरूद्ध मुद्दा नचलाउने निर्णय गरेको सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले जानकारी दिए।
यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेविरूद्ध मुद्दा नचलाउने प्रतिवेदन उच्च सरकारी वकिलको कार्यालयमा पठाएको थियो। उच्च सरकारी वकिलको कार्यालयले जिल्लाको प्रतिवेदनलाई गत बिहीबार महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेमाथि विशेषगरी चार वटा आधारका कारण मुद्दा नचलाउने निर्णय गरेको थियो। लामिछानेले सन् २०१५ मा लिएको ०८८३४८३८ नम्बरको राहदानी दुरूपयोग गरेको अध्यागमन विभागको रेकर्डबाट पनि नदेखिएको कुरालाई पहिलो आधार मानेको छ।
दोस्रो, आधार अमेरिकी नागरिक हुनुअघि उनी वंशजको आधारमा नेपाली नागरिक रहेको र विदेशी नभई गैरआवासीय व्यक्तिसरह रहेको मानेको कार्यालयका प्रमुख एवं न्यायाधीवक्ता अच्युतमणि न्यौपानेले बताएका थिए।










