चितवन । चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा गण्डकीकलीको शल्यक्रिया गरेर जन्माइएको छावाको न्वारन भएको छ । दुई दिनसम्म व्यथा लाग्दा पनि गण्डकीकलीले छावालाई जन्म दिन नसकेपछि चिकित्सकले शल्यक्रिया गरेर निकालेका थिए । आइतबार उक्त छावाको नाम विजयगज राखिएको छ ।
हात्तीको छावालाई विजयगज नाम राख्नुको पछाडिको कारण उसको जन्मको घटनासँग जोडिएको छ । १२ दिनअगाडि पशु चिकित्सक डा विजयकुमार श्रेष्ठको टोलीले शल्यक्रिया गरेर निकालिएको यो छावाको नाम उनै डाक्टरका सम्मानका खातिर राखिएको हो । दुई दिनसम्म व्याथा लाग्दा पनि बच्चा जन्माउन नसकेपछि मृत्युको मुखमा पुगेको हात्ती र छावा शल्यक्रियामार्फत् सकुशल भएपछि हात्तीको नाम विजयगज राखिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य भन्छन्, ‘मृत्युसँग जुधेर नयाँ जीवन प्राप्त गरेको हात्ती पनि भयो । शल्यक्रिया गर्ने चिकित्सकको नाम पनि विजय भएकाले छावाको नाम विजयगज राखियो ।’
प्रजनन केन्द्रका प्रमुख मनिपुरन चौधरी हात्तीसारमा जन्मिएका छावालाई न्वारान गर्ने चलन पहिल्यैदेखि रहेको बताउँछन् । उनी भन्छन्, ‘मानिसको बच्चा जन्मँदा ११ दिनमा न्वारान गरिन्छ । हात्ती अलिक ठूलो जीव भएकाले १२औं दिनमा न्वारान गर्ने चलन छ ।’ उनका अनुसार हात्तीको न्वारान गर्ने दिन निकुञ्जका प्रमुख संरक्षण अधिकृत, समामजका लब्ध प्रतिष्ठित व्यक्तिहरु, विभिन्न सरकारी निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख लगायतको सहभागिता हुने गर्छ ।










