भरतपुर । अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघले भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका गरी १५४ विद्यालयमा समावेशी शिक्षा परियोजना लागु गरेको छ । सम्पूर्ण अपाङ्गता भएका, कार्यगत सीमितता भएका र सिकाइमा कठिनाई भएका बालबालिकालाई लक्षित गरेर दुई वर्षदेखि परियोजना कार्यान्वयनको चरणमा छ ।
यस परियोजनाको मुख्य लक्षित वर्गमा विद्यालयभित्र पूर्वप्राथमिक तहदेखि कक्षा ८ सम्म र विद्यालयबाहिर रहेका ४ देखि १७ वर्ष उमेर समूहका करिब ३५ हजार बालबालिकाहरू रहेका छन् । परियोजना युकेएडको आर्थिक सहयोगमा ह्याण्डिक्याप इन्टरनेशनल र सेन्स इन्टरनेशनलको सहकार्य एवम् प्राविधिक सहयोगमा सञ्चालन भएको हो ।
अटिजम केयर चितवन सोसाइटीले शिक्षा प्रणालीको सुदृढीकरण, विद्यालय तथा समुदायस्तरमा हुने शैक्षणिक क्रियाकलाप गर्दै आएको छ । राष्ट्रिय बहिरा महासंघले जटिल प्रकारका अपाङ्गता भएका बालबालिकाहरूका लागि कार्य गरिरहेको छ । परियोजनाअन्तर्गत भरतपुर र कालिकामा एक÷एक वटा अटिजम विशेष स्कुल सञ्चालन गरिएको सोसाइटीकी अध्यक्ष निर्मला डल्लाकोटीले बताइन् ।
अटिजम भएका बालबालिकालाई छोटा शब्द र फोटोको प्रयोगले पढाउने गरिएको छ । दुई स्कुलमा १३१ जना बालबालिका अध्ययनरत छन् । ४४ जना नयाँ बच्चा जन्मिँदा एक जना बालबालिकामा अटिजम हुने गरेको सोसाइटीकी कार्यकारी निर्देशक प्रमिला न्यौपाने बताउँछिन् ।
विद्यालय बाहिर रहेका अपाङ्गता भएका बालबालिकाका लागि घरमा आधारित शिक्षा सञ्चालन गर्न प्रारम्भ गरिएको राष्ट्रिय बहिरा महासंघले जनाएको छ । विद्यालय बाहिरका १४८ जना बालबालिकाका लागि सहजकर्तामार्फत वैयक्तिक शैक्षिक योजना बनाई सिकाइ सहयोग गरिदै आएको छ ।










