काठमाडौँं। छैटौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) बिहीबारबाट काठमाडौँमा सञ्चालन हुने भएको छ। आयोजक नेपाल फिल्म एण्ड कल्चर एकडेमीले बुधबार भृकुटी मण्डप स्थित पर्यटन बोर्डमा एकपत्रकार भेटघाट गर्दै महोत्सवको तयारी पुरा भएको जानकारी दियो ।
चैत्र ६ गतेसम्म आयोजना हुने महोत्सवको नारा ‘विश्वभरीका कथाहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भन्ने रहेको छ । ‘निफ’को समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ बाट हुने कार्यक्रम छ भने, समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीबाट हुने आयोजक संस्थाका अध्यक्ष केपी पाठकले बताए ।
५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको कार्यक्रममा आयोजकले जानकारी दियो । महोत्सवमा सहभागी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित ५ वटा अत्याधुनिक सिनेमा हलहरु काठमाडौँको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा हुनेछन् । संसारभरीका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कलाअनुरागी कोही पनि बञ्चित हुनहुन्न भनेर आयोजकले फिल्म प्रदर्शन ४ हलमा मिलाएको हो ।
निफको ‘ओपनिङ फिल्म’ को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ ( अप्रतियोगी) प्रदर्शन हुनेछ । त्यसैगरी माथि उल्लेखित सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिनेछ । यस पटकपनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिनेछ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश छन् ।
यस पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्त्व दिइएको छ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरूले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउनेछन् ।
कार्यक्रममा निफका प्रमुख सल्लाकार, कलाकार तथा निर्देशक नीर शाहले महोसवमा एकै ठाउँबाट संसार घुम्न र बुझ्न सकिने भन्दै महोत्सवको लाभ फिल्मकर्मी तथा सर्वसाधारणले उठाउनुपर्ने धारणा राखे ।











