चितवन । चितवनमा सोमबार फागु पूर्णिमा (होली) सभ्य र सुरक्षित तरिकाले मनाइएको छ । जिल्लामा विशेषगरी पहाडी होली धुमधामसँग मनाउने गरिन्छ । आज तराई होली आदिवासी थारु लगायत केहि समुदायले मनाउने गर्छन् ।
होली पर्व मनाउने संस्कृतिमा धेरै सुधार आएको जिल्ला प्रहरी कार्यालय चितवनले विश्लेषण गरेको छ । होली पर्वमा हुन सक्ने घटनालाई लक्षित गरेर चितवन प्रहरीले सोमबार जिल्लाको ३० ठाउँमा चेकिङ राखेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले सोमबार जिल्लामा कुनै अप्रिय घटना नभएको बताए । ‘यसअघिको होलीमा ठूला दुर्घटना र अप्रिय घटना समेत भएका थिए । यसपाली आम समुदायले सभ्य तरिकाले होली मनाउनुभएको छ । झै–झगडा र मापसे गरेर सवारी चलाउने घटना पनि खासै भएन’, उनले भने ।
पछिल्लो समय टिकटक बनाउनकै लागि भएपनि होली खेल्ने प्रवृत्ति देखिन्छ । जिल्लामा आज पनि होली मनाउने समुदाय रहेकाले हिजोको जस्तै सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सोमबार मादक पदार्थ सेवन गरी सवारी चलाउने एक जना मात्रै चालक कारबाहीमा परेका छन् ।











