भरतपुर । चितवनमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुभारम्भ भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालय चितवनमा एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सेवाग्राहीलाई परिचय पत्र हस्तान्तरण गरी शुभारम्भ गरेकी हुन् ।
शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले अबको युग प्रविधिमैत्री भएकाले सबैले परिचयपत्र प्राप्त गर्नुपर्ने बताइन् ।
मेयर दाहालले परिचयपत्र वितरण तथा तथ्याङक संकलनको कामलाई थप प्रभाकारी बनाउन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराइन् । भरतपुर महानगरबासीको सहजताका लागि महानगरपालिका परिसरका छुट्टै ईकाई बनाएर परिचपत्रको कामलाई बढाउन तयार रहेको उनले उल्लेख गरिन् ।
राष्ट्रिय परिचय पत्र नागरिकहरुको वैयक्तिक तथा जैविक विवरण समावेश गरी बायोमेटिक सुविधायुक्त प्रमाणपत्र हो । नेपाल सरकारले नागरिकका तथ्याडकहरुलाई डिजिटल प्रविधिमा राख्न यो कामको थालनी गरेको थियो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले अहिले दैनिक १५ हजार राष्ट्रिय परिचयपत्र छपाईको काम भइरहेको बताए । महानिर्देशक पण्डितले अबको एक वर्षभित्र अभियान नै चलाएर दुई करोड नेपालीको तथ्याङक संकलन गर्ने र दुई वर्षभित्र सबैलाई परिचयपत्र उपलब्ध गराउने लक्ष्य लिएको बताए । छपाई भएका परिचय–पत्रको वितरण कार्य चितवनबाटै सुरु गरिएको उनको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले चितवनमा १५ हजार राष्ट्रिय परिचयपत्र छपाई भएर आएको जानकारी दिए । राष्ट्रिय परिचय–पत्रलाई स्थानीय तहअनुसार सेवा केन्द्र स्थापना गरी वितरण गर्ने कार्यलाई थप प्रभावकारी बनाईने उनले बताए । प्रमुख जिल्ला अधिकारी पौडेलले यसको थालनी भरतपुर महानगरपालिकाबाट सुरु गरी क्रमश सबै पालिकामा विस्तार गर्ने योजना लिएको उल्लेख गरे ।
अब केही समयपछि कुनै पनि काम गर्दा राष्ट्रिय परिचय–पत्र अनिवार्य चाहिने नियम आउने भएकाले छुटेका र यो सेवाबाट बाहिरा भएका नागरिकले सम्बन्धित ईकाईमा सम्पर्क राख्न आग्रह गरे ।











