काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको बताएका छन् । आठदलीय गठबन्धनका सांसदहरुका लागि बिहीबार आयोजित अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धन देखेर जनता खुसी भएको भन्दै कांग्रेसभित्र माओवादी र माओवादीभित्र कांग्रेस रहेको बताएका हुन् ।
‘हामी सबैको एकअर्काको भोट हो । जनता पनि अहिलेको गठबन्धन देखेर खुसी छन् होला, ठीकै ठाउँमा भोट हालेछौं भनेर,’ उनले भने । यसैगरी प्रधानमन्त्री दाहालले आफ्ना लागि प्रधानमन्त्री पदभन्दा पनि राजनीतिक विचार प्रमुख भएको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा आफूले प्रधानमन्त्रीभन्दा आफ्नो राजनीतिक विचार, संविधान र लोकतन्त्र प्रमुख हो भनेर प्रस्ट रुपमा बताउने गरेको समेत उल्लेख गरे ।
ठूलो पार्टीको हैसियतामा कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव लिएर जाऔंभन्दा ओलीले नमानेपछि एमालेसँगको गठबन्धनबाट बाहिरिनुपरेको प्रधानमन्त्री दाहालले बताए ।
उनले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई ८ दलको मात्रै नभएर संसद्मा र निर्वाचन आयोगमा दर्ता भएका १० दलभन्दा बढीको समर्थन रहेको दाबी गरे ।











