काठमाडौं। आइसिसीले अनुमती दिएसँगै बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेले युएईमा भइरहेको विश्वकप लिग–२ का खेल खेल्न पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले आज नै लामिछानेलाई युएई पठाउने तयारी गरेको छ ।
उनलाई क्रिकेटको अन्तरराष्ट्रिय नियामक निकाय आइसिसीले विदेशमा खेल्न जान अनुमति दिएपछि उनी आजै युएई जाने भएका छन्। सर्वोच्च अदालतले आइतबार उनलाई विदेशमा खेल्न जाने अनुमति दिएको थियो।
क्यानले घाइते खेलाडी श्याम ढकालको ठाउँमा खेलाडी परिवर्तन गरी सन्दीपलाई समावेश गर्न आइसिसीसँग अनुमति माग्दै आइतबार नै पत्राचार गरेको थियो। सन्दीपलाई बुधबार नै युएई पठाइने क्यान श्रोतले बताएको छ।











