काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेसँगै फिेरि विश्वासको मत लिनैपर्ने भएको छ ।
नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि गत पुस १० गते गठन भएको प्रचण्ड नेतृत्वको सरकार ६४ दिनमा नै अल्पमतमा परेको हो। एमालेले आज र राप्रपाले फागुन १३ गते आफ्ना मन्त्रीलाई फिर्ता बोलाएसँगै सरकार अल्पमतमा परेको हो।
एमाले र राप्रपाले समर्थन फिर्ता लिएपछि सरकारलाई ७७ जना सांसदको मात्रै समर्थन रहेको छ। गत पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डलाई २६८ मत प्राप्त भएको थियो। अब उनले संविधानको धारा १०० को उपधारा २ अनुसार पुनः विश्वासको मत लिनुपर्नेछ।
उक्त उपधारामा भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ।’
प्रचण्डलाई माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २०, जनमत पार्टीको ६, नागरिक उन्मुक्ती पार्टीको ४ र स्वतन्त्र तीन जना सांसदको समर्थन बाँकी छ। गत फागुन १२ गते नेपाली कांग्रेससहित ८ दलीय गठबन्धन ब्यूँतिएसँगै एमाले र राप्रपा सरकारबाट बाहिरिएका हुन्।
८ दलीय गठबन्धन अन्तर्गत कांग्रेससँग ८८, माओवादी केन्द्रसँग ३२, जसपासँग १२, जनमत पार्टीसँग ६, नागरिक उन्मुक्ती पार्टीसँग ४, लोसपासँग चार र राष्ट्रिय जनमोर्चासँग एक जना सांसद रहेका छन्। १८ सांसद रहेको रास्वपा ८ दलीय गठबन्धन बाहिर रहेको छ।











