काठमाडौँ । काठमाडौंमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले चोरी गर्ने समूहलाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सीताराम रिजालले जानकारी दिए।
पक्राउ पर्नेमा पाँचथर घर भई गोकर्णेश्वरका सुनचाँदी व्यवसायी ४३ वर्षीय राजकुमार योङ्या लिम्बू, धनकुटाका ३८ वर्षीय जीवन मगर, मकवानपुरका ४२ वर्षीय रेशम रूम्बा, धादिङका ४३ वर्षीय सागर तामाङ, सिन्धुपाल्चोकका पेम्बा लामा र मुस्ताङका डिमा वाङ्दी गुरूङ छन्।
२०६९ जेठ २ गते रेशम रूम्बा र सागर तामाङ कर्तव्य ज्यान मुद्दामा जेल परेका थिए। ७ वर्ष कैदपछि २०७७ फागुन ७ गते प्रजातन्त्र दिवसको दिन राष्ट्रपतिबाट आममाफी पाएर छुटेको देखिएको छ।
योङ्या लिम्बू पनि गत असोज ३० गते सवारी अंगभंग मुद्दा दर्ता भएर तारिखमा रहेको देखिएको एसपी रिजालले बताए।
लामा र गुरूङले चोरीका सामान किन्ने गर्ने गरेको एसपी रिजालले बताए। प्रहरीले उनीहरूलाई गत सोमबार पक्राउ गरेको हो।
काठमाडौंको बौद्धस्थित फूलबारी बस्ने ४९ वर्षीय सङ्गे लामाको घरमा र ललितपुर पाटनका सुजन शाक्यको बौद्ध स्तुपास्थित सुन चाँदी तथा विभिन्न धातुका ह्यान्डीक्राफ्टस् पसलमा चोरी भएको थियो।
लामाको घरमा गत पुस ७ गते बिहान १ बजे चोरी भएको थियो। घरको पूजा कोठाको ग्रिल फुटाएर सुनका गरगहना, चाँदी लगायत विभिन्न पूजाका सामान अन्दाजी ४२ लाख बराबरको सामान चोरी भएको एसपी रिजालले बताए।
त्यस्तै, फागुन १ गते बिहान साढे २ बजे बौद्ध स्तुपामा रहेको शाक्यको पसलमा चोरी भएको हो। उनको पसलबाट साढे ३५ लाख बराबरको सामान चोरी भएको थियो।
प्रहरीले उनीहरूमाथि चोरी तथा डाँकासम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएको छ। यसको थप अनुसन्धान प्रहरी वृत्त बौद्धबाट भइरहेको परिसरले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले चोरी गर्नुअघि रेकी गर्ने गरेको खुलेको छ। उनीहरूले दिउँसोपख आफ्नै ट्याक्सी लिएर चोरी गर्ने घरको लोकेसन लगायतको सूचना संकलन गर्ने गरेको एसपी रिजालले बताए।
‘दिनभरि आज कहाँ चोर्ने त भनेर लोकेसन पत्ता लगाउने काम गर्छन्। त्यसपछि आफूहरू आवतजावत गरेको पनि नदेखियोस् भनेर बाटोका सिसिटिभी पनि फुटाउने, बंग्याउने गरेको पायौं,’ उनले भने, ‘चोरीको लागि प्रयोग गर्ने ट्याक्सीको नम्बर प्लेट पनि छोपेर प्रयोग गर्ने देखियो।’











