–सुनिता सुवेदी
चितवन । तीन वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने ठिमुरा पुलको काम आठ वर्षमा ६० प्रतिशत मात्रै भएको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण दुई पटकसम्म भत्किएको पुलले तीन मजदुरको ज्यान लिएको थियो । त्रिशुली नदीमाथि बनेको चितवनको ठिमुरा र देवघाटको घिनाटार जोड्ने यो पुलको अन्तिम म्याद आगामी चैतमा सकिँदै छ । यद्यपी चैतमा पनि पुल निर्माण सम्पन्न हुने देखिदैन ।
सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर रमेशप्रसाद पौडेलका अनुसार चालु आर्थिक वर्ष २०७९/८० भित्रै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । २१ करोड ६८ लाख रुपैयाँमा पुल निर्माण गर्न इलाईट–एड्भेन्चर–इन्द्रेणी जेभीसँग २०७१ कात्तिकमा सम्झौता भएको थियो । दुई पटकसम्म पुल भत्किएर तीन मजदुरको ज्यान गएपछि गठित छानविन समितिले समयमै ‘प्रिस्टेस’ गर्न नसक्दा पुल भत्किएको प्रतिवेदन दिएको थियो ।
अहिले पुल निर्माणले राम्रो गति लिएको सडक डिभिजन प्रमुख पौडेल बताउँछन् । ‘यो पूल दुईपटक सम्म भत्कियो । यसपटक हामी गम्भिर भएर अध्ययन गरेर, प्रिजेन्टेसन गरेर विज्ञहरुको सरसल्लाह बमोजिम नै अहिले पुल बनिरहेको छ’, सडक डिभिजन प्रमुखले भने । दुई पटकसम्म भत्केको यो पुलको निर्माण कम्पनी करिब ७ करोड रुपैयाँ घाटा खाएर काम गरेको उनी बताउँछन् ।
आगामी असार मसान्तसम्म काम सक्ने आँकलन गरिएको उनले बताए । त्यसका लागि फेरि तीन महिना म्याद थप्नुपर्ने छ । ‘करिब ६० प्रतिशत काम बनेको छ, अब ४० प्रतिशतलाई धेरै समय लाग्दैन’, उनले भने, ‘ठेकेदारले ५० प्रतिशत अर्थात् करिब १२ करोड रुपैयाँ भुक्तानी लगिसकेको छ ।’ पुलमा ४ वटा स्पानमा आरसिसि हाल्नुपर्नेमा दुईवटामा भइसकेको र बाँकी दुईवटा बाँकी रहेको उनको भनाई छ ।
‘अब बाँकी एउटा ४० मिटरको आरसिसिको स्पान हाल्ने काम, अर्को ८० मिटरको स्टिलको ट्रस ब्रिज हाल्ने काम हो’, उनले भने, ‘एउटा आरसिसिको काम हुँदै छ, फागुनको एक/दुई गते ढलान हुन्छ । त्यसको केबल तान्ने २८ दिनपछि हो, फागुन मसान्तसम्म आरसिसिको काम सकिन्छ ।’ स्टिलको ट्रस ब्रिजको काम मुख्य भएकाले कार्यतालिका अनुसार नै हुने उनले बताए ।
‘चैत्र मसान्तभित्र मेन स्टिल ब्रिजको काम सक्ने टार्गेट छ, त्यसपछि खोला बढेपनि माथीको डेक ढलान गर्न समस्या हुँदैन, टेका लगाउन पनि पर्दैन,’ उनले भने । पुल दुई सय मिटर लामो छ । डिजाइनअनुसार पुलका चार वटा स्पान हुन्छन् । कंक्रिटका ४०र४० मिटरका तीन वटा र स्टिलको एउटा ८० मिटरको स्पान रहन्छ ।











