चितवन । रवि लामिछानेको नेतृत्वमा वन डिभिजनको टिमले काठ समातेको जलदेवी सामुदायिक वनका पदाधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वन डिभिजनलाई जानकारी नै नदिई लुकाईराखेको अवस्थामा ४८ क्युफिट चिरान काठ फेला परेपछि डिभिजनले दुई महिनाअघि काठ बरामद गरेको थियो ।
उक्त घटनाको अनुसन्धानका क्रममा सामुदायिक वनका पदाधिकारी दोषी देखिएपछि उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरीएको स्रोतले जानकारी दियो ।
वन डिभिजनले जलदेवी सामुदायिक वनका अध्यक्ष माधव देवकोटा, उपाध्यक्ष ऋषिकेश अर्याल, कोषाध्यक्ष लक्ष्मी पाठक पाण्डे, सह–सचिव माधव शर्मा भुसाल, पार्क व्यवस्थापन संयोजक लोकबहादुर रानाभाट र कटान संयोजक रामबहादुर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
उनीहरुलाई वन ऐन, २०७६ अनुसार छ महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । ‘उहाँहरुले आफ्नै विद्यान विपरित डिभिजन वनलाई जानकारी नै नगराई काठ राखेको पाइएको छ’, स्रोतले भन्यो ।










