नमस्कार ।
भरतपुर महानगर प्रमुख रेनु दाहाल र कालिका नगरपालिका, रत्ननगर नगरपालिका, खैरहनि नगरपालिका, राप्ती नगरपालिका, ईच्छाकामना गाउँपालिका प्रमुख तथा सबै निर्वाचित जनप्रतिनिधिहरुलाई खुल्ला पत्र मार्फत निवेदन पेश गरेको छु ।
तपाईंहरु सन्चै हुनुहुन्छ । तपाईंहरुको पनि शिघ्र स्वास्थ्य लाभको कामना । तपाईंहरूको राजनितीक यात्रा सफल होस्। भरतपुर अस्पतालमा मेरो एक हप्ता बसाइको अनुभव र बिरामीको समस्या र सुझाव बारे लेख्दै छु ।
मेयर रेनु दाहाल तथा प्यारी दिदि तपाईंको दृढ ईच्छा शक्ति ,सरल स्वभाव, छलकपट नभएको ईमानदार बोलिमा पक्का विकास प्रेमी भएर नै तपाईं भरतपुर महानगरपालिकाको दोस्रो पटक भारि मतका साथ मेयर पदमा विजयी हुनुभयो । तपाईंको नाममा समेत गित बन्यो ‘भरतपुर कि छोरी हुँ’ ।
मलाई मेरै गाउँ प्यारो । मलाई मेरै ठाउँ प्यारो । जाउ जाहाँ दुर दुर मलाई भरतपुर रै प्यारो । मलाई यहीँ नाउँ प्यारो । म रंग हुँ, उमङ्ग हुँ, सम्बन्ध हुँ मन मन को होहोहो म रंग हुँ ,उमङ्ग हुँ ,सम्बन्ध हुँ मन मनको गित हुँ प्रित हुँ मीत हुँ जन जनको । साथी हुँ साथको विश्वास गर बातको । म आज हुँ, भोलि हुँ, भरतपुर कि छोरी हुँ ।
तपाईंको पहलमा भरतपुर महानगरपालिका भित्र विकास गरेको कामको बर्णन गरेर साध्य नै छैन् । चाहे, भरतपुर महानगरको प्रशासनिक भवन, ६ लेन सडक गोद्राङ्ग देखि पुल चोक, ४ लेन सडक बस पार्क देखि देवाला बङ्गाला सम्म, सिटी हल, नारायणी तटबन्ध, नारायणी पुल, एयर पोर्टको नयाँ भवन, स्मार्ट लाईट, रिङ्ग रोड लिङ् रोड, फोहोर ब्यबस्थापन, प्रचण्ड मार्ग सडक अरु थुप्रै गौरवका आयोजनहरु तपाईंको पहिलो भरतपुरको मेयर कार्यकालमा र पहलमा बजेट ल्याएर काम तिब्र गतिमा भई रहेका छन् । यसमा कसैको दाबी पुग्दै ।न हालका शहरी विकास मन्त्री विक्रम पाण्डे न उपप्रधानमन्त्री गृहमन्त्री रवि लामिछाने ।
उनिहरुले जुन दिन यो कामको लागि बजेट ल्याए भने उनिहरुको पनि चर्चा गरौंला ।अहिलेको प्रचण्ड सरकारलाई समर्थन र साथ दिएका छन् ।अनि प्रचण्ड सरकारमा मन्त्री बनेका छन् । वहाँ दुई जना नै भरतपुर महानगर भित्र पर्ने २–३ निर्वाचन क्षेत्रबाट जनताको अपार मतका साथ विजयी भएको छन् । हामी विकासमा मिलेर सहकार्य आगमी दिनमा गरौला नै । तपाईंहरुलाई निर्वाचनमा जनताले मन पराएर नै कृया पुत्री देखि बृद्धअबश्थाका बुवा आमाहरु दाजुभाइ दिदिबहिनीहरु विरामी हुनु भएका अबस्थामा समेत एम्बुलेन्समा हाले मतदान केन्द्रमा ल्याएर भोट हालि जिताएको हो ।यो दिन पनि नविर्सन हार्दिक अपिल गर्छु । म भरतपुर अस्पताल ७ दिन बस्दा भरतपुर अस्पतालको अबस्था र बिरामीको अबस्था गहिरो सग बुझ्ने मौका मिल्यो । केन्द्र प्रदेश र स्थानीय सरकारले के के काम गर्न सक्छन् त भने सोच्ने मौका मिल्यो । जनप्रतिनिधिहरु पनि बिरामी हुनुहुन्छ होला । आफ्नो परिवार आफन्त छरछिमेक पनि बिरामी पर्नु हुन्छ होला नि । तपाईं जनप्रतिनिधिहरुको पनि पहिलो कर्तव्य आफ्नो मतदाताहरुको स्वास्थ्यको ग्यारेन्टी लिनु पहिलो दायित्व हो । तपाईं जनप्रतिनिधिहरुले अस्पतालमा आफन्त वा पार्टी कार्यकर्ता बिरामी हुदा मेसु वा अस्पताल विकास समितिका अध्यक्षलाई फोन गरेर छुट वा उपचारको ब्यबस्था मिलाई दिनु पर्यो भनेर दिन दिनै फोन गरेको भुल्नु भयो कि जस्तो लाग्यो । भरतपुर अस्पतालमा धेरै ठाउँमा प्रचण्ड कमरेड र रेनु दाहालबाट उद्घाटन भएको पाएको छु । म गृगौला पिडितको अबस्था देखेर अचम्मित छु ।
यो रोग लागे पछि उपचार पद्धति महंगो र जटिल रहेछ । ठाउँको ठुलो अभाव देखे । मेसिन विग्रेको ६ वटा लामो समय भएछ । कुरुवा घरको ठाउँ रहेनछ । मृगौलाको उपचार ब्लक ए माथि गरिने रहेछ । यहाँ गोर्खा, तनहुँ, नवलपरासी, बुटवल, मकवानपुर, लमजुङ, धादिङ र चितवनका मानिस उपचारमा आउछन् । मेरो भनाइ के छ भने मेयर रेनु दाहाल दिदी तपाईंको पालामा भरतपुर महानगर भित्र विकाशले छलाङ मारेको छ । सडकदेखि अन्य काम तिब्र गतिमा भएको घाम जस्तै छर्लङ्ग छ । तपाईं विकास प्रेमि नेता भनेर चिनिनु हुन्छ । तपाईं दोस्रो पटक उठ्दा तिनै जनताले विकास गरेको देखे पुनः दोस्रो कार्यकालमा अत्यधिक मतले विजय गराए । तपाईंका केही मानिसले चुनाव रेनुले ७÷८ हजारले हार्छ भन्थे । तर तपाईंले त १२४५५ मतले विजय भए पछि उनिहरु समेत दङ्ग छन् । अब तपाईंले स्वास्थ्य क्षेत्रमा बढि ध्यान पुर्व काम गर्नु होला । मेरा सुझाव र सल्लाह हो । हिजो मैले नै तपाईंको प्रचारप्रसार गरेर विकास प्रेमि नेता हो भनी टोल टोलमा चिनाउने काम गरेको थिए । हिजो भरतपुरको मेयर स्व मुक्तिलाल चुके र स्व हिम बहादुर पियादुई दुई पटक भएका हुन र दिदी तपाईं पनि फेरि मेयर पदमा उठ्नु पर्छ ।अनि तपाईंको विकासका अधुरो काम पूरा गर्न सक्नु हुन्छन् मैले नै भनेको हुँ । अनि तपाईंले मेयर पद पक्का जित्नु हुन्छ पनि मैले नै भनेको हुँ । अब तपाईंको समाज प्रतिको कर्तव्य स्वास्थ क्षेत्र हो अहिले ।
महानगर भित्र शिक्षा क्षेत्रमा राम्रो सुधार भएको छ नै । तपाईंले २९ वडामा यस बर्ष २ करोड ५० लाख प्रति वडा बजेट विनियोजन गर्नु भयो ।अब यहीँ माघ २७ गते महानगरको नगर सभा बस्दै छ । प्रत्येक वडामा एउटा एउटा बाटो अर्को बर्ष बनाउदा पनि हुन्छ । प्रत्येक बडा बाट ५० लाख छुट्टाउनु र २९ बडाको विरामी भरतपुर अस्पताल नै उपचार गर्न आउछन् । त्यसैले ५०लाख ८२९ बडा गर्दा कुल बजेट १४ करोड ५० लाख हुन आउँछ ।मृगौला उपचारको लागि ब्लक ए को माथि ट्रस लगाएर भवन बनाउने अनि गृगौला फेल भएको उपचार गर्ने मेसिन कम्पनी हेरि २० लाख देखि ३० लाख सम्म पर्छ ।सो मेसिन पनि किनेर हस्तान्तरण गर्नु होला । ईमर्जेन्सी भवनको माथिल्लो तलमा ट्रमा सेन्टरको भवन बनाएर भरतपुर महानगर भनेर नाम लेख्नु । यो तपाईंको राजनीतिक यात्राको नयाँ पनले तपाईंलाई ध्रुव तारा झै अटल बनाउने छ ।परोपकार नै धर्म हो । पुन्य काम गर्नु होस् । तिनै मतदाताको मत बाट विजय हुनु भयो ।उहाँहरुको उपचार सधैं सरिक हुनुहोस् । तपाईमा दृढ ईच्छा शक्ति छ । बाटो त बनाए पछि केही समय पछि भत्कन्छ । फेरि अर्को नेताले आएर बनाउछ अनि सो बाटो मैले बनाए भन्छ । तर तपाईंले भरतपुर अस्पतालमा गरेको यो पुन्य कामले १०० बर्ष सम्म काम लाग्छ ।उपचार गर्न आएका बिरामीले तपाईंलाई सधैं सम्झने छन् । फेरि तिनै मतदाताले फेरि प्रतिनिधि सभा २/३ मा उठ्दा अत्यधिक मतले पुनः विजयी गराउने छन् । तपाईं अहिले भरतपुर महानगरको मेयर पदमा हुनु हुन्छ । यो पद तपाईंको अन्तिम पनि हो ।
अब तपाईंले स्वास्थ्य र शिक्षाक्षेत्रमा काम गर्नु होला । अनि अहिले त तपाईंको बुवा पुष्प कमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुनुहुन्छ । तपाईंको आफ्नै दिदी क्यान्सरबाट वित्नु भयो । भने आमाको उपचार पद्धति तपाईं आफै भुक्तभोगी हुनुहुन्छ । यस्तै मौकामा तपाईंले भरतपुर अस्पताललाई टिचिङ्ग अस्पताल बनाउन पहल गर्नु होला । यो चितवनको सबैभन्दा ठुला महत्त्वपूर्ण गौरवको आयोजना हुने छ । चितवनमा जनसंख्या बृद्वि अनि अन्य जिल्लाबाट बसाइँसराइ अनि बुटवल, नवलपरासी, तनहु, लमजुङ गोर्खा, धादिङ, मकवानपुर आदिबाट पनि उपचार गर्न आउछन् । अब भरतपुर अस्पतालले बिरामी को उपचार धान्न सक्दैन ।छिटोभन्दा भरतपुर अस्पताललाई टिचिङ्ग अस्पताल बनाउनु पर्छ ।
चितवनका अन्य पालिकाका मेयर वा गाउपालिका अध्यक्षले भरतपुर अस्पतालमा रहेको मृगौला डायलसिस गर्ने मेसिन दुई/दुई वटाको दरले किनेर तुरुन्तै भरतपुर अस्पताललाई हस्तान्तरण गर्नुहोला । तपाईंको वडाका मृगौला बिरामी पनि उपचार गर्न आउँछ । तपाईंले पनि त कृयापुत्री देखि बृद्धअबश्था बुवा आमा बिरामीलाई एम्बुलेन्स ल्याएर भोट हाल्न लगाएर चुनाव जित्नु भएको नै हो के रे । वहाँ उपचार गर्नु स्थानीय सरकारको पहिलो दायित्व हो । यो महँगोमा उपचार पद्धति रहेछ । यहि कसैको घरमा मृगौला डायलसिस गर्नु भएको छ भने हप्ताको दुई पटक गर्नु परेमा विरामीलाई ल्याउने लैजाने गर्दैमा फुर्सद नै हुदो रहेनछ । काम गरेर आम्दानी गरे उपचार गर्न भ्याउन सकिने रहेनछ ।खान लाउन सकिने रहेनछ ।कमाउने मान्छे समेत बिरामीको अघि पछि हिड्दैमा ठिक्क हुदो रहेछ । यो रोग कसैको परिवारलाई नलागोस् ।
सेवा नै धर्म हो । परोपकारले मानिसलाई शान्ति मिल्छ । विकासका नाम मन्दिर बनाउनु भन्दा अस्पताल बनाऔँ । हामी सबै एक न एक दिन अस्पताल भर्ना हुनै पर्छ । उपचार गर्नै पर्छ । मानिस जन्मन गाह्रो हुन्छ तर जन्मे पछि मर्न नपाए हुन्थ्यो भन्छ मान्छेले । तर मृत्यु अनिवार्य छ ।
धर्म बहादुर कार्की
मृगौला पिडित संघ
केन्द्रीय सदस्य
चितवन











