काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा अपत्यारिलो भिडियो भाइरल छ। फेसबुक, टिकटक, युट्युवमा भाइरल भिडियोमा एक व्यक्ति आफू मरेको मान्छे ब्यूँताउन शव खोज्दै हिँडेको दाबी गर्छन्।
वीर अस्पताल अगाडि बसेर आफूलाई मणिरत्न सापकोटा बताउने युवकले केही युट्युव च्यानललाई दिएको अन्तरवार्ताले अहिले चिकित्सा क्षेत्रलाई नै आश्चर्यमा पारेको छ। अझ सापकोटाले भिडियोमा आफू मेडिकल क्षेत्रकै मान्छे भएको दाबी गरिरहेका छन्।
उनले आफ्नो एउटा टिम रहेको र टिमले अनुसन्धान गरेर कम उमेरमै मृत्युवरण गर्नुपरेकालाई बचाउन सक्ने इन्जेक्सन तयार गरेको बताएका छन्। हृदयघात, विष सेवन, सर्पको टोकाइ, डुबेर वा निसासिएर मृत्यु भएका कम उमेरका मानिसलाई बचाउन सकिने उनको दाबी छ।
५०–६० वर्षभन्दा कम तर शरीरका सबै अंग सकुशल हुँदाहुँदै मृत्यु भएकालाई बचाउन सकिन्छ। हामी परीक्षणकै क्रममा छौं। सबैलाई राखेर खुला ठाउँमा हामी प्रयोग गर्न चाहन्छौं। सापकोटाले भिडियोमा भनेका छन्।
दुर्घटनामा परेका, जलेका वा ५०(६० वर्ष नाघेकालाई भने उनले बनाएको इन्जेक्सनले काम नगर्ने उनको दाबी छ। उनले आफूले बनाएको केमिकल मुसा र बट्टाइ चरामा सफल परीक्षण गरिसकेको र अब मानिसमा परीक्षण गर्न खोजेको बताएका छन्।
‘मरेको बट्टाइ चरा बाँचेर अहिले उडिरहेको छ, मुसामा पनि सफल परीक्षण गरिसकेका छौँ।’ उनले भनेका छन्, हामी वीर, टिचिङजस्ता अस्पतालमा प्रयोग गर्न मिल्ने शवको खोजीमा छौं तर अहिलेसम्म पाइएको छैन। तपाईंहरुले कतै पाउनुभयो भने बोलाउनुहोस् हामी तुरुन्तै आउँछौं।’
उनले आफूले चार वर्ष लगाएर यो अनुसन्धान गरेर केमिकल पत्ता लगाएको समेत दाबी गरेका छन्। यतिसम्म की उनले आफूले डाक्टरहरुलाइ समेत यसको बारेमा जानकारी दिएको दावी गरेका छन्।
के भन्छन् डाक्टर ?
डाक्टरहरू भने मृत्यु भइसकेको व्यक्ति पुनः बचाउन सकिने कुरामा कुनै सत्यता नभएको जिकिर गर्छन्। अहिलेसम्म त्यस्तो उपकरण वा औषधि बनिनसकेको अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत फिजिसियन डा प्रतिक पौडेल बताउँछन्।
‘कुनै पनि व्यक्तिलाई मृत घोषणा गर्नुपूर्व चिकित्सकले उसको ब्रेन र मृत्युको चाललाई मुख्य आधार बनाउँछन् तर एक पटक डेथ भइसकेको ब्रेन र मुटुलाई पुनः फर्काउन सकिँदैन, एक पटक बन्द भइसकेको मुटुको चाल र ब्रेनको कार्यलाइ पुनस् सन्चालन गरिने विज्ञान चिकित्सा विज्ञानमा पनि हालसम्म आविष्कार गरिएको छैन’ डा पौडेलले भने।
मन्त्रालय भन्छ–हल्लाको पछि नलाग्नुस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नेपालमा मात्रै होइन संसार भर नै मृत्यु भइसकेका मानिसलाई पुनः जिउँदो बनाउन सकिने कुनै पनि चिकित्सा विज्ञानको आविष्कार नभएको हुँदा सामाजिक सञ्जालमा आएका यस्ता भिडियोलाई विश्वास नगर्न आग्रह गरेको छ।
मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले भ्रामक रुपमा फैलिएको यस्तो भिडियोप्रति कसैले पनि विश्वास नगर्न आग्रह गरेका छन्।
डा अधिकारीले भने ‘ हालसम्म संसारमा जुनसुकै कारणले मृत्यु भए पनि मेडिकलले मृत्यु घोषणा गरिएको व्यक्ति पुन विउँझिएको नपाइएको र मृत्यु भएको व्यक्तिलाई पुन विउँझाउने चिकित्सा विज्ञानको आविष्कार भएको छैन, यस्ता भ्रमपूर्ण कुराहरूको पछाडि लाग्न हुँदैन।’











