काठमाडौँ । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा सन्दुक रुइतले राष्ट्रपति पदमा आफ्नो कुनै इच्छा नभएको बताएका छन्। साथै यो पद आफ्ना लागि पनि नभएको स्पष्ट पारेका छन्।
बुधवार आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो खुलासा गरेका हुन्। उनले आफ्नो कामबारे राम्ररी जानकार रहेको बताउँदै राष्ट्रपति पदमा गएर भन्दा बाहिर रहेर आफूले गर्नुपर्ने काम धेरै रहेको स्पष्ट पारे।
उनले राष्ट्रपति पदलाई राम्रो र उदाहरणीय बनाउन धेरै काम गर्न बाँकी रहेको पनि बताए। हालै बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएपछि उनले आज पत्रकार सम्मेलन गरेका थिए। इसा अवार्ड पाएपछि सामाजिक सञ्जालमा डा रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठेका थिए।
रुइतले भने, ‘लोकतन्त्रमा रबरस्टाम्प भए पनि राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ। हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ। भारतमा राष्ट्रपतिको पद कति सम्माननीय छ‚ त्यसलाई पनि हेर्नुपर्छ। मैले आफ्नो स्थान र सीमा राम्रोसँग बुझेको छु। यो मेरा लागि होइन।’
डा रुइतले अन्तरराष्ट्रिय अवार्ड नेपालीले पाउनु भनेको विश्वमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको चर्चा गरे।
उनले इसा अवार्डलाई आफ्नो जीवनकै ठूलो कमाइका रूपमा हेरेको बताए। उनले राज्यले यो अवार्डलाई कसरी लिन्छ भन्नेमा आफूले ध्यान दिइरहेको पनि बताए। उनले नेपालमा आँखा उपचारको क्षेत्रलाई सबैतिर विस्तार गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘यस्तो ग्लोबल अवार्ड नेपालीलाई दिनु गर्वको कुरा हो। संसारमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्ने थाहा भयो र नेपालीको गिर्दो आत्मसम्मान, प्रतिष्ठा बचाउन यसले धेरै ठूलो सहयोग गरेको छ। यो मेरो जीवनकै कमाइ हो।’
यो आफ्नो जिन्दगीको तपस्याको फल भएको बताउँदै उनी भावुक बने। विदेशीले भन्दा नेपालीले दुई÷तीन गुणा बढी मेहनत गर्नुपर्ने अवट्ठथा रहेको पनि उनले चर्चा गरे।










