रत्ननगर । स्वास्थ्य कार्यालय चितवनको आयोजना एवं रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा स्थानीय तहस्तरमा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपना सरसफाइ प्रवर्द्धनसम्बन्धी एकदिने तयारी गोष्ठी सम्पन्न भएको छ ।
रत्ननगर नगरपालिकाका १६ वटै वडाका स्वास्थ्य केन्द्र प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव पौडेलले नगरपालिकाभित्र एक वर्षभित्रमा भएका खोप कार्यक्रमको उपलब्धि र स्वास्थ्य गतिविधि प्रस्तुत गरेका थिए ।
गोष्ठीमा स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईं, वरिष्ठ क्षयकुष्ट अधिकृत जयराम दुवाडी, खोप प्रमुख वेदप्रसाद अधिकारीले कार्यक्रमको सहजीकरण गरेका थिए । उनीहरुले पूर्ण खोप दिगोपनाका लागि १६ महिनादेखि २३ महिनाभित्रका सबै बालबालिकामा १३ किसिमका खोप लगाउनुपर्ने बताए ।
वडातहदेखि स्थानीय सरकार र जिल्लातहमा स्वास्थ्य कार्यालय चितवनले आवश्यक समन्वय गरी चितवनलाई वैशाखभित्र पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि सबैको सक्रिय सहभागिता र जवाफदेहिता आवश्यक रहेको बताए । उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका उपप्रमुख यादवप्रसाद पाठक तथा वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।











