काठमाडौं । सरकारले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति १० बजेसम्म चलेको बैठकले मन्त्रालय बाँडफाँड टुंग्याएको हो।
बैठकपछि गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ मन्त्रीले आज दिउसो १ बजे शपथ लिनेगरी दलहरूबीच सहमति भएको जानकारी दिए। ‘कुन–कुन पार्टीले कुन कुन मन्त्रालयको जिम्मेवारी लिने भन्ने कुरा सहमति भइसकेको छ’, उनले भने, ‘को को मन्त्री बन्ने भनेर मंगलबार नै नाम बाहिर आउनेछ।’
मंगलबार पाँच घण्टाभन्दा बढी चलेको सत्ता गठबन्धनको बैठकमा नेकपा माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए।
पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले २२ दिनपछि मन्त्रिपरिषदलाइ पूर्णता दिन लागेका हुन्। मन्त्रिपरिषद् विस्तारअघि मंगलबार सर्वदलीय बैठक बोलाइएको छ।











