भरतपुर । पछिल्लो समय पैसा कमाउने ध्यानमा लाग्दा अभिभावकले आफ्नो परिवार र बालबालिकालाई समय दिन भ्याइरहेका हुँदैनन् । त्यसले गर्दा व्यवसायमा सफल बने पनि उनीहरुको परिवारमा भने समस्या आउने गरेको छ । अभिभावक धेरै व्यस्त हुँदा विशेषगरी बालबालिकामा मानसिक समस्या नै पनि निम्तिन सक्ने सरोकारवालाहरु बताउँछन् ।
नेपाली युवा उद्यमी मञ्च चितवनले चितवन महोत्सव परिसरमा आयोजना गरेको मेड इन नेपाल एक्स्पोमा आइतबार ‘परिवारका लागि समय व्यवस्थापन’को विषयमा अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा सहभागी मनोरोग विशेषज्ञ डा. खगेन्द्र काफ्लेले अभिभावकमा व्यस्तता बढ्दा बालबालिकामा मानसिक समस्या देखिएको बताए । बालबालिकाको मानसिक समस्या समाधानका लागि परिवारका सदस्यले समयको व्यवस्थापन गर्न जान्नुपर्ने उनी बताउँछन् ।
शिक्षिका शिलु भट्टराईले अभिभावकले बालबालिकाका लागि समय छुट्टयाउन नसक्दा उनीहरुको पढाइ पनि प्रभावित हुने गरेको बताइन् । आफ्नो बच्चालाई धेरै पैसा तिरेर राम्रै स्कुलमा पढाएको छु भनेरमात्रै नहुने भन्दै उनले बालबालिकालाई पनि अभिभावकले समय छुट्टयाउनुपर्ने बताइन् । सर्जिकल व्यवसायी अर्जुन रानाभाटले आफ्नो व्यावसायिक व्यस्ततासँगै साप्ताहिकरुपमा भए पनि परिवारलाई समय दिनुपर्ने बताए ।
परिवारमा विचलन आउन नदिन समय व्यवस्थापनमा जोड दिनुपर्ने उनको सुझाव थियो । कार्यक्रमको सञ्चारकर्मी रामकान्त पौडेलले समन्वय गरेका थिए । नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको एक्स्पोमा ४० वटा स्टल रहेका छन् । तीमध्ये १० वटा स्टार्टअप बिजनेसका स्टल रहेका छन् । नेपाली उत्पादनको प्रवद्र्धन गर्न एक्स्पोको आयोजना गरिएको हो ।











