चितवन । पूर्वीचितवनको खैरहनी नगरपालिका–५ जबकौली (गौचरन)मा आज (विहीबार)देखि ‘आठौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरेका हुन् ।
सो क्रममा बोल्दै गृहमन्त्री लामिछानेले थारु समुदायको कलासँस्कृति सरंक्षरणका लागि सरकार प्रतिवद्ध रहेको बताए । उनले थारु समुदायको उत्थान, विकास र मुद्दामा ध्यान र विवेक पु¥याउने बताए । कार्यक्रममा बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले थारु सँस्कृतिको माघी पर्व सबै समुदायको साझा पर्वको बन्न सफल भएको बताए । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले हरेक वर्ष माघ १ गते खिचरा पर्वको अवसरमा खिचरा महोत्सव गर्दै आएको छ ।

महोत्सवमा देशभरका थारु जातिको रहनसहन र भेषभूषाका साथै थारु जातिले खाने खानाका परिकारलाई प्राथमिकता दिइएको मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले जानकारी दिए । थारुको बसोबास रहेका २५ जिल्लाका थारुको खाना एकै ठाउँमा पस्किने प्रयास गरिएको उनले जानकारी दिए । महोत्सवमा ३० वटा होटलसहित एक सय ५० वटा व्यावसायिक स्टल रहेका छन् । महोत्सवमा कृषि प्रवद्र्धन परिसरसमेत रहनेछ ।
महोत्सवमा जिल्लास्तरीय भलिबल, खुला चित्रकला, विद्यालयस्तरीय नृत्य, गाउँखाने कथालगायतका विभिन्न प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन हुनेछ । उद्घाटन सत्रमा महोत्सव मुल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने थाकसका अध्यक्ष चुडामणि चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, उपप्रमुख खेम महतो, थारु अगुवा राजेन्द्र प्रसाद चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।










