चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत कुजौली रेन्जपोष्ट नजिकै पोथी गैँडा मृत अवस्थामा भेटिएको छ ।
कुजौली रेन्जपोष्टको कार्यक्षेत्र भित्र पर्ने नारायणी नदीको भंगालोको किनारामा आइतबार बिहान ५:४० बजेको समयमा अन्दाजी १८ वर्षको गैँडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जको नियमित संयुक्त गस्ति टोलीले मृत अवस्थामा उक्त गैँडा फेला पारेको निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । उक्त गैँडा प्राकृतिक कारण (बुढो भएर) मृत्यु भएको तिवारीले जानकारी दिए । मृत गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जानकारी दिएको छ ।
यसअघि मंसिरमा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैँडाको मृत्यु भएको थियो । गत मंसिर २८ गते बाघले आक्रमण गरेर मृत्यु भएको अवस्थामा खाग नपलाएको ६ महिनाको भाले गैँडालाई निकुञ्जले अमलटाँडी सेक्टरमा फेला पारेको थियो ।
त्यस्तैगरि मंसिर २९ गते पनि १५ वर्षको पोथी गैँडा आपसमा जुधेर मृत्यु भएको अवस्थामा सोही सेक्टरमा फेला परेको निकुञ्जले जानकारी दिएको छ ।











