-सुनिता सुवेदी
चितवन । माडी नगरपालिकाका चार वटा खानेपानी आयोजनामा मापदण्ड भन्दाबढि आइरनको मात्रा भएको पुष्टि भएको छ । पानी परिक्षण प्रयोगशाला भरतपुरको टोलीले पुस १८ देखि २० गतेसम्म माडीको चार खानेपानी आयोजनामा खानेपानी परीक्षण गरेको थियो । डिप बोरिङबाट निकालेको पानीमा मापदण्डभन्दा बढी आइरन भेटिएको हो ।
गर्दी खानेपानी आयोजना, बघौडा खानेपानी आयोजना, कल्याणपुर खानेपानी आयोजना र खरकट्टा खानेपानी आयोजनामा धमिलोपना र आइरन देखिएको पानी प्रयोगशालाका केमिष्ट योगेन्द्र नारायण देवले बताए ।
‘राष्ट्रिय खानेपानी गुणस्तर मापदण्डले प्रतिलिटर खानेपानीमा बढिमा ०.३ एमजी आइरन हुनुपर्ने मापदण्ड छ’, उनले भने, ‘माडीका चारवटा आयोजनामा भने प्रतिलिटर ०.५ एमजी आइरन भेटिएको छ, जुन हानीकारक मानिन्छ ।’
थोरै मात्राको आइरनले स्वास्थ्यलाई ठिक गर्ने भएता पनि बढि मात्राले स्वास्थ्य लगाएतका विभिन्न कुरामा असर गर्ने देवले बताए । आइरन बढी हुँदा पानीको रङ परिवर्तन हुने, स्वाद परिवर्तन हुने, गन्ध आउने, नुहाउँदा कपाल झर्ने, सेतो कपडामा विस्तारै पहेँलो दाग बस्दै जाने हुन्छ ।
आयोजनाहरुले अहिले फिल्टर नै नगरी पानी वितरण गर्ने गरेकोले उक्त समस्या देखिएको हो । २०७२ सालको भुकम्पपछि प्राकृतिक पानीको गुणस्तर परिवर्तन भएको केमिष्ट देव बताउँछन् ।
‘माडीका सबै खानेपानि आयोजनामा फिल्टर राख्नुपर्ने देखियो । उपभोक्ता समितिमार्फत खानेपानी आयोजना सञ्चालन भएकाले नगरपालिका वा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नै फिल्टर उपलब्ध गराउनुपर्ने हुन्छ,’ उनले भने । डिप बोरिङमा डेढ सयदेखि दुईसय फिट तलको पानी तान्ने गरिन्छ । उनका अनुसार सरुवा रोगहरुमध्ये ८० प्रतिशत रोग फोहोर पानीबाट लाग्ने गर्दछ ।
संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीका अनुसार चितवनमा खानेपानीमा देखिएका समस्यालाई न्युनिकरण गर्नको निमित्त केहि आयोजनाको नाम खानेपानी तथा ढल व्यवस्थापन विभागमा पठाइएको छ । खानेपानी आयोजनाका लागि प्रेसर फिल्टर आवश्यक पर्ने उनी बताउँछन् ।
‘प्रदेश र स्थानीय तहमा पनि खानेपानीको समस्यालाई न्युनिकरण गर्नको लागि पत्राचार गर्छाैँ । त्यहाँबाट सहयोग हुन सक्छ,’ उनले भने, ‘केहिको नाम विभागमा पठाएका छौँ, एक/दुईवटा फिल्टर आउन सक्छ ।’ प्रदेश र स्थानीय तहले पनि फिल्टर किन्नुपर्ने उनले बताए । माडीका केहि स्थानीयले भने पानी परीक्षणमा बायोस्याण्ड कंक्रिटको फिल्टर प्रयोग गर्ने गरेका छन् ।
‘पछिल्लो समय प्रेसर फिल्टर चर्चित नै छ । २० देखि २५ लाख सम्म पर्ने उक्त फिल्टर ल्याउने प्रयास गरिरहेका छौँ,’ उनले भने, ‘प्रेसर फिल्टरले आइरनको मात्रा रोक्न सक्छ । त्यसमा प्रति सेकेण्ड २० लिटर पानी पानी हान्ने क्षमता हुन्छ ।’











