भरतपुर । होटल व्यवसायी संघ चितवनको नवनिर्वाचित कार्यसमितिलाई होटल व्यवसायी महासंघले बधाई तथा शुभकामना व्यक्त गरेको छ।
महासंघले बिहीबार एक कार्यक्रमको आयोजना गरी संघका अध्यक्ष ऋषिकेश अर्यालसहितको कार्यसमिति सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो।
होटल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष एवम् होटल गंगोत्री नारायणगढ तथा होटल गंगोत्री हाइवे टाँडीका अध्यक्ष दिनेशकुमार चुकेले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएकोमा बधाई एवम् शुभकामना व्यक्त गर्दै संघसँग सहकार्य गर्न तयार रहेको बताए। उनले महासंघको सल्लाह र सुझाव लिएर काम गर्न संघको नयाँ कार्यसमितिलाई आग्रह गर्र्दै व्यवसायीको हितका लागि विभिन्न गतिविधि गरिने बताए।
महासंघले चितवनमा निकट भविष्यमा प्रथम राष्ट्रिय रैथाने खाना तथा कृषि पर्यटन महोत्सव २०८२ आयोजना गर्न लागेको जानकारी गराउँदै उनले उक्त फुड फेस्टिबलमा पनि सहकार्य गर्न प्रस्ताव गरे । चितवनमा पर्यटकिय गतिविधि बढे मात्रै होटल व्यवसायीलाई फाइदा पुग्ने भन्दै उनले होटल व्यवसायी आफै पनि पर्यटन प्रबद्र्धनमा लाग्नुपर्ने बेला आएको बताए ।
‘हाम्रा होटल व्यवसायीमा एउटा उत्साह रहेको छ । यसलाई व्यवस्थित गर्दै जानुपर्ने छ’, उनले भने, ‘महासंघसँग मिलेर रैथाने खाना तथा कृषि पर्यटन महोत्सव गर्न सक्यो भने होटल व्यवसायी संघको पनि आर्थिक आर्जन बढ्ने छ ।’
आफुले महासंघलाई प्रदान गरेको जग्गामा केन्द्रीय कार्यालय बनाउन र जिल्ला संघले निर्माण गरिरहेको भवनलाई महोत्सवबाट आर्जन हुने रकमले सहयोग पुग्ने उनले बताए । अध्यक्ष चुकेले भरतपुर–३ स्थित बाह्रघरेको एक कठ्ठा जग्गा महासंघलाई प्रदान गरेका छन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष अर्यालले महासंघको अध्यक्ष पनि चितवनकै भएकाले व्यवसायीक हितको लागि महासंघको नेतृत्वसँग छलफल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘हाम्रो टिमले हरेक कुरामा महासंघको नेतृत्वसँग सल्लाह गर्ने र सुझाव लिनेछ । व्यवसायीको हकहितको लागि हामी सामुहिक रुपमा डटेर लड्ने छौँ’, उनले भने, ‘संघले गर्नुपर्ने काममा हामी सँधै तत्पर हुने छौँ ।’
होटल व्यवसायी संघ चितवनको २९औँ साधारण सभा तथा १४औँ अधिवेशनबाट अर्यालको नेतृत्वमा २१ सदस्यिय नयाँ कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा यज्ञबहादुर कार्की, प्रथम उपाध्यक्षमा रामबहादुर गुरुङ, द्धितिय उपाध्यक्षमा विकास गुरुङ र तृतीय उपाध्यक्षमा सावित्रि घिमिरे, महासचिवमा कृष्णकुमार महतो, सचिवमा सन्देश चापागाई, कोषाध्यक्षमा पुजन कोइराला र सहकोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका थिए ।
कार्यसमिति सदस्यहरुमा गंगा पराजुली, पिण्डराज केसी, नारायण जर्गा मगर, गनबहादुर श्रेष्ठ, लोकनाथ कँडेल (कृष्णपुर इकाइ), छविलाल चापागाई (भरतपुर इकाइ), ललिता श्रेष्ठ (माडी इकाइ), अर्जुन श्रेष्ठ (इच्छाकामना इकाइ), नवीन कँडेल (नारायणगढ बजार इकाइ), सफल अधिकारी, सरिता शर्मा र बुद्धिकुमार श्रेष्ठ (अर्जुन)लाई चयन भएका हुन् ।











